काठमाण्डौ । साप्ताहिक बिदा कति महत्वपूर्ण हुन्छ ? यसको जबाफ आमकर्मचारीबाहेक अरु कसले दिन सक्ला ? 

नेपालमा प्रायः सबै कार्यालयहरुले हप्तामा १ दिन बिदा दिने गरेका छन्। त्यसबाहेक सार्वजनिक बिदामा अधिकांश सरकारी कार्यालयहरु बन्द हुने गरेका छन्। 

संयुक्त अरब इमिरेट्स (यूएई) ले मंगलबार कर्मचारीहरुलाई सातामा साढे २ दिन बिदा दिने निर्णय गरेको छ। यो नियम सन् २०२२ जनवरी १ बाट लागू हुनेछ। अब यूएईमा जनवरी १ बाट कर्मचारीले सातामा साढे ४ दिन काम गरे पुग्ने भएको छ। साताको अन्तिम दिन शुक्रबार मध्याह्न १२ बजेपछि आइतबारसम्म उनीहरुले बिदा पाउने भएका छन्। 

सरकारले यस्तो निर्णय यूएईको जनजीवन सन्तुलित गर्नका लागि लिएको हो।

यूएई मात्र त्यस्तो देश भने होइन, जहाँ सातामा अधिक बिदा दिइन्छ। जापानमा सातामा ३ दिन बिदा दिइन्छ भने ४ दिन काम गर्नुपर्छ। तर, जापानका मानिस सबैभन्दा धेरै काम गर्नेमा पर्छन्। अधिक काम गरेकै कारण जापानमा कतिपयको ज्यान गएको घटना पनि सार्वजनिक भइरहेको छ। यस्तो अवस्थामा जापान सरकारले कर्मचारीको काम सन्तुलन पार्ने विषयमा सोचविचार गरिरहेको छ। 

उता आइसल्यान्ड, स्पेन र न्युजिल्यान्डमा भने कर्मचारीहरुले साता ३ दिन काम गरे पुग्छ। बाँकी ४ दिन भने बिदा दिइन्छ। जसका कारण कर्मचारीको कार्यशैली र क्षमतामा निकै बढोत्तरी भएको छ। – एजेन्सी