काठमाण्डौ । सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार पाउने व्यक्तिहरूको वर्गीकरण गर्दै मापदण्ड तोकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क उपचार पाउने संक्रमितहरूलाई सातवटा सूचीमा वर्गीकरण गरेको हो। मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको सूचीअनुसार पहिलो नम्बरमा विपन्न वर्गहरुलाई राखिएको छ। अब कुनै पनि संक्रमितले आफू विपन्न भएको प्रमाणपत्र पेस गरेमा वा स्वयं घोषणा गरेमा  सरकारले निःशुल्क उपचार गर्नेछ।

सरकारले दोस्रो नम्बरमा अशक्त राखेको छ। यस्ता संक्रमितहरूले पनि सरकारलाई अशक्तताको प्रमाणपत्र वा स्वयं घोषणा गरेमा निःशुल्क उपचार पाउनेछन्। 

वर्गीकरणको तेस्रो नम्बरमा असहाय व्यक्तिहरू छन्। कोरोनाको निःशुल्क उपचार पाउने त्यस्ता व्यक्तिले सिफारिस वा स्वयं घोषणा गर्नुपर्नेछ। 

यसैगरी चौथो नम्बरमा असहाय एकल महिला छन्। यस्ता महिलाले पनि असहाय एकल प्रमाणपत्र वा स्वयं घोषणा गरे निःशुल्क उपचार पाउनेछन्।

पाँचौँमा अति अपांगता भएकाहरु परेका छन्। यस्ता मानिस संक्रमित भएमा निःशुल्क उपचार पाउन अपांगताको प्रमाणपत्र पेस गर्नुपर्नेछ।

सरकारले छैटौँ नम्बरमा ज्येष्ठ नागरिकलाई राखेको छ। ७० वर्ष पुगेको नागरिकताको प्रमाणपत्र वा उमेरको स्वयं घोषणा गरे सरकारले निःशुल्क उपचार गर्नेछ।

सातौँमा भने अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरू छन्। त्यस्ता व्यक्तिहरू संक्रमित भएमा निःशुल्क उपचारका लागिसम्बन्धित कार्यालयको परिचयपत्र वा सिफारिस पेस गर्नुपर्ने हुन्छ। 

माथि उल्लेखित प्रमाणपत्र वा आधारहरू संकलन नभएमा सम्बन्धित अस्पतालको सामाजिक सेवा इकाइ वा अस्पतालकै सिफारिसमा पनि निःशुल्क सेवा लिन सकिने भनिएको छ। तर उल्लेखित आधार पुगेका संक्रमितहरूको बीमा गरिएको अवस्थामा भने सम्पूर्ण परीक्षण तथा उपचार खर्च निजको बीमा रकमबाट कटौती गरिने उल्लेख छ। 

यीबाहेक अन्य व्यक्तिको हकमा भने सम्पूर्ण उपचार खर्च संक्रमित स्वयंले बेहोर्नुपर्ने सरकारले निर्णय गरेको छ।