-भीम चन्द
कला, संस्कृति, भेषभूषा, सांस्कृतिक संरचनाहरु र प्राकृतिक सम्पदाहरुको अवस्था पहिलेको जस्तो विशिष्ट नरहे पनि तिनै सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको अवलोकन गर्न पर्यटकहरुको आगमनमा वर्षेनी वृद्धि भइरहेकै थियो । तर कोभिड १९ को विश्वव्यापी प्रकोपका कारण वि.सं. २०७६ को चैत्रदेखि अन्य देशहरुमा झै हाम्रो देशको पर्यटन व्यवसायमा पनि ग्रहण लाग्यो । कोभिडको प्रकोप विश्वभर भए पनि विभिन्न देशहरुले अन्य आर्थिक गतिविधिलाई सुरक्षित रुपले जारी राखे । परिस्थिति अनुसार स्वास्थ्य र सुरक्षा मापदण्डहरु अपनाउँदै आर्थिक गतिविधिहरु र अर्थतन्त्रको तौरतरीका बदलेर कतिपय देशहरुले यही प्रकोपको दौरानमा ठूलो  फड्को मारेका छन् । तर हाम्रो देशमा भने उद्योगधन्दा, व्यापार व्यवसाय, पूर्वाधार सहितका निर्माणजन्य गतिविधिहरु, स्थानीय श्रोत सम्पदामा आधारित कृषि सहितका उत्पादनशील क्षेत्रहरु, पर्यटन गतिविधि र जनजीविकालाई एकाएक पूर्ण रुपमा रोक्दै तीब्र रुपमा कोभिडको व्यावसायिक खेति गरियो । जिम्मेवार निकायका गैरजिम्मेवार पदाधिकारी तथा तिनका आसेपासेहरु गास, बासर लासमाथि व्यापार गरेर अथाह कमाउन व्यस्त रहे ।  

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर जनजीविका तथा देशको अर्थतन्त्र चलायमान गराउने सुरक्षित वैकल्पिक तरीका अवलम्बन गर्न गराउन सकिन्थ्यो । प्रभावित क्षेत्रहरुमा स्मार्ट लकडाउन गरेर व्यावसायिक कृषि, जडीबुटीको अध्ययन, अनुसन्धान, यसबाट औषधी उत्पादन तथा बजारीकरण, जलश्रोतको सदुपयोग, पूर्वाधार निर्माण र सुरक्षित रुपमा पर्यटकीय गतिविधिहरु सुचारु गर्न सकिन्थ्यो । स्वास्थ्य सुरक्षाका मापदण्डहरु नेपाल सुरक्षित रहेको जानकारी गराउदै सहज र सुरक्षित आगमनको व्यवस्था गरेको भए विश्वभरका पर्यटकहरु नेपाल हिमालय क्षेत्रमा ओइरिन्थ सक्थे । यही समयमा पर्यटनकै माध्यमबाट देशले काँचुली फेर्न सक्थ्यो । 

तर अन्धो–बहिरो घिचाहा मिचाहा सरकार र यसका सम्बद्ध निकायहरु अहोरात्र देशको अर्थतन्त्र तहसनहस पार्ने दुष्कर्ममा मात्र तल्लीन छन् । राज्यले पर्यटन व्यवसायी, पेसाकर्मी तथा तिनका परिवारहरुलाई जीवनमरणको दोसाँधमा पार्ने दुष्कर्म गरेको छ । आयात र भुक्तान सन्तुलनका लागि आवश्ययक पर्ने विदेशी मुद्रा आर्जनको प्रमुख श्रोतको रुपमा रहेको पर्यटन व्यवसायमा राज्यले नै तालाबन्दी गराएको छ । देशको अर्थतन्त्र पूर्ण रुपमा धरापमा पार्दै नियोजित रुपमै देशलाई पराश्रित र पराधीन गराउने दुष्कर्म तथा राज्यापराध गरिएको छ । 

अनअराइभल भिसा तथा विदेश स्थित नेपाली दूतावासहरुबाट भिसा लिदा पनि विविध औपचारिकताको अनावश्यक झन्झट, खोप लगाएका पर्यटकहरुले पनि क्वारेन्टाइनमा बस्नु पर्ने र पिसिआर टेष्ट गर्नुपर्ने व्यवस्थाले टाइट सेड्यलु भएका तथा छोटो अवधिको भ्रमणमा आउने अधिकांश स्तरीय पर्यटकहरुलाई नेपाल भ्रमणको समय नपुग्ने, देशका अधिकांश भागमा अझै पनि आ-आफ्नै किसिमको पर्यटक निषेधको अवस्था, अध्ययन आदि विशिष्ट पर्यटकीय गतिविधिको अनुमतिका लागि प्रक्रियागत झन्झट, काठमाडौंबाट पदयात्रा अनुमति लिएर गए पनि त्यसलाई मान्यता नदिएर कतिपय ठाउँहरुमा छुट्टै अनुमति लिनुपर्ने आदि झन्झटले नेपालको पर्यटन व्यवसाय उभो लाग्ने देखिदैन । 

पहिले नै सलामी दस्तुर बुझासकेका र विशेष सहजताका कारण पर्वतारोहण क्षेत्र नगण्य रुपमा चलेको भए पनि बाँकी  सबै पर्यटकीय गतिविधिहरु हाल शून्यको अवस्थामा छ । पर्यटकको सुरक्षित सहज आगमन र सहज भ्रमणको व्यवस्था नहुँदा होटेल, रेष्टुरा सहितका क्षेत्रमा गरिएको ठूलो लगानी डुब्ने अवस्थामा रहेको छ । सन २०२० को नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारी घोषणामा साथ दिन पर्यटन यातायात व्यवसायीहरुले पनि अर्वौं ऋण लगानीमा खरीद गरिएका सुविधा सम्पन्न गाडीहरुमा खिया लागेको छ भने यातायात व्यवसायीहरु ऋणको बोझमा थिचिएका छन् । पर्यटन व्यवसायीहरुले यस क्षेत्रबाट हात धुनुपर्ने अवस्था सिर्जना गरिएको छ । देशको चौथो ठूलो रोजगारीको आधार रहेको यस क्षेत्रका कतिपय दक्ष जनशक्ति र व्यवसायीहरु पलायन भइसके भने कतिपय वैकल्पिक जीविकाको खोजीमा रहेका छन् । 

झण्डै दुई वर्षदेखि नेपाल भ्रमणको प्रतिक्षामा रहेका पर्यटकहरुको सहज आगमनको व्यवस्था गर्नुको सट्टा नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनको नाटक गरिरहेको छ । वर्तमान परिस्थितिमा पर्यटन प्रवद्र्धन हाम्रो पहिलो प्राथमिकता होइन । पहिले नेपाल भ्रमणको योजना बनाएका इच्छुक पर्यटकहरुको सुरक्षित सहज आगमन र देशभर सुरक्षित भ्रमणको व्यवस्था गर्नुप¥यो । त्यसपछि मात्र पर्यटन प्रवद्र्धनका प्रभावकारी उपायहरु अपनाउन सकिन्छ । यदि पर्यटक आगमनमा विविध अडचन गरिएको अहिलेको विद्यमान व्यवस्था यथाशीघ्र परिवर्तन गरिएन भने पछि यस क्षेत्रमा दक्ष जनशक्ति पाउन गाह्रो हुनेछ । दक्ष जनशक्ति बिना गुणस्तरीय पर्यटकीय सेवा प्रदान गर्न सकिदैन । गुणस्तरीय पर्यटक बिना देशको अर्थतन्त्रमा ठूलो योगदान हुन सक्दैन ।  

यति मात्र होइन पर्यटक आगमन तथा भ्रमणको हालको विद्यमान व्यवस्थामा तत्काल सुधार नगरेमा यहाँ आउन खोज्ने पर्यटकहरु यहाँकै जस्तो सांस्कृतिक र भौगोलिक विशेषतासंग मिल्दोजुल्दो देशहरु इन्डिया, भुटान तथा तिब्बतमा जान सक्छन् । पर्यटकहरुबाट भित्रिन सक्ने ठूलो परिमाणको विदेशी मुद्रा ययहाँको प्रक्रियागत झन्झटका कारण हाम्रा छिमेकी देशहरुमा जान सक्छ । त्यसैले अनावश्यक भाषणवाजी वा हावाका भरमा कुरा गरेर समय तथा अर्थतन्त्रको थप बर्बादी गर्नुको सट्टा विद्यमान प्रक्रियाहरुलार्ई यथाशीघ्र सरल र सहज गर्नुका साथै अनलाइन, द्रुत, एकद्वार प्रणाली मार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाउनु पर्छ । 

पर्यटन क्षेत्रको विकास र यसबाट समृद्धि हासिल गर्ने स्मार्ट उपायहरु

विभिन्न देशहरुमा हिंसात्मक द्वन्द्व, रोगको महामारी, राजनैतिक अराजकता आदि अस्थिर र असुरक्षित गतिविधि भइरहेका भए पनि पर्यटन सहितका आर्थिक गतिविधिहरु सुरक्षित रुपले जारी राखिएका छन् ।   हाम्रो देशमा पर्यटनको अथाह संभावना भएको, कोभिड खोप लगाएका विश्वभरका लाखौं पर्यटकहरु नेपाल भ्रमणको सहज व्यवस्थाको प्रतिक्षामा रहेको र यहाँ कोभिड रोग राज्यको नियन्त्रणमै रहेको अवस्था भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर पर्यटकहरुकोे सहज आगमन तथा भ्रमणको  व्यवस्था गर्न सकिन्छ । व्यक्तिगत तथा दलीय फाइदाको लागि रातारात संविधान, ऐन, कानून बदल्न सकिन्छ भने देशको हितका लागि आवश्यक व्यवस्था तथा कार्यविधि बदलेर सहजता अपनाउन किन ढिलाइ गर्ने ? अब एक महिनामा सुनौलो पर्यटकीय सिजन शुरु हुँदैैछ । यो पर्यटकीय सिजनबाट तत्काल फाइदा लिन र दीर्घकालीन रुपमा पर्यटन क्षेत्रको माध्यमबाट समृद्धि हासिल गर्न राज्यले यथाशीघ्र निम्नानुसार स्मार्ट उपायहरु अपनाउनु पर्छ:

१. कोभिडको खोप लगाएका पर्यटकहरुलाई विश्वसनीय अनलाइन पेपर भिसा तथा अन अराइभल भिसाको  व्यवस्था गर्ने ।

२. कोभिड खोप लगाएको प्रमाणको आधारमा भिसा प्राप्त गरेका पर्यटकहरुलाई योजनानुसार सीधै पर्यटन भ्रमण तथा पर्यटन गतिविधि संचालनको व्यवस्था गर्ने ।

३. पर्यटन क्षेत्रमा सम्बद्ध सम्पूर्ण व्यवसायी, जनशक्ति तथा समुदायलाई यथाशीघ्र कोभिड खोप लगाउने । हाम्रो देशमा पर्वतारोहण, ट्रेकिङ्ग, फ्लाइट मात्र नभएर समुदायमा आधारित   सांस्कृतिक पर्यटन पनि भएकाले समग्रमा सबै नेपालीलाई सरकारको उच्च प्राथमिकता अनुसार यथाशीघ्र खोप लगाउने व्यवस्था गर्ने । 

४. निषेधित वा नियन्त्रित क्षेत्रको पदयात्रा आदि अनुमति दस्तुर अनलाइन भुक्तानीका साथै पर्यटकको पासपोर्ट र नेपाल भिसा नम्बरको आधारमा अनलाइन अनुमति दिने व्यवस्था गर्ने । 

५. विभिन्न किसिमका जोखिमहरुबाट बच्न, संभाव्य गैरकानूनी र अनैतिक गतिविधिहरुलाई निरुत्साहित गर्न, सुरक्षित जिम्मेवार पर्यटकीय गतिविधि गर्न तथा रोजगारको सिर्जनाका साथै राष्ट्रिय आयमा थप टेवा पुर्याउन अनिवार्य रुपमा ट्रेकिङ्ग ट्राभल्स कम्पनीहरु मार्˚त मात्र भ्रमणको व्यवस्था गर्ने गराउने । 

६. काठमाडौंबाट टिम्ससहितका यात्रा अनुमति लिएर गएका पर्यटकहरुलाई कतिपय प्रदेश तथा स्थानीय स्वायत्त सरकारहरुले केन्द्रको अनुमतिलाई मान्यता नदिई छुट्टै अनुमति लिनुपर्ने अवस्था छ । संघीय सरकार र यसका सम्बद्ध निकायले आवश्यक समन्वय गरी एकीकृत अनुमतिको व्यवस्था गर्ने । राष्ट्रिय निकुञ्ज झै एक्याप एमक्याप आदि संरक्षण क्षेत्रहरुको अनुमति नियमित शुल्कमा प्रवेश विन्दुमै लिनसक्ने व्यवस्था गर्ने । 

७. विश्वका प्रमुख पर्यटक श्रोत देशहरुमा यथासक्य नेपाली वायुसेवा कम्पनीहरुको सीधा भरपर्दो अन्तराष्ट्रिय उडानको व्यवस्था गर्ने ।  

८. आन्तरिक हवाइ सेवालाई सुरक्षित, भरपर्दो र स्मरणीय तुल्याउन विमानस्थल सहितका पूर्वाधारहरुको स्तरोन्नतिका साथै नयाँ तथा अत्याधुनिक विमानहरुबाट नियमित समय तालिकाअनुसार उडानको व्यवस्था गर्ने गराउने । 

९. पर्यटनको माध्यमबाट देशका सबै क्षेत्रको सन्तुलित विकासका लागि विराटनगर र धनगढी वा नेपालगञ्ज विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गरेर ती क्षेत्रमा पर्यटकहरुको सीधा पहुँच  गराउने । 

१०.व्यक्तिगत रुपमा मोबाइल एप तथा अनलाइन इन्टरनेट बैंकिङ्ग मार्फत रकम भुक्तानीको सहज व्यवस्था भए पनि हालसम्म कम्पनीहरुलाई यो सुविधा नभएकोले कम्पनीको बैंक खाताबाट व्यक्तिगत खातामा रकम जम्मा गरी सम्बद्ध पक्षलाई ट्रान्सफर गर्नुपर्ने वा चेकबाटै भुक्तानी गर्नुपर्ने अवस्था छ । अनलाइन डिजिटल भुक्तानीको आजको युगमा सुरक्षित कार्यविधि बनाएर कम्पनीको अफिसियल बैंक खाताबाट नेपाली वा विदेशी मुद्रामै सहज भुक्तानी गर्ने व्यवस्था मिलाउने । 

११. एउटै व्यक्ति वा समूहको ट्रेकिङ्ग ट्राभल्स कम्पनीलाई छुट्टाछुट्टै दर्ता तथा इजाजत लिनुपर्ने व्यवस्थाको सट्टा एउटै कम्पनी दर्ता गरी एउटै इजाजत पत्रमा सेवाको प्रकार अनुसार ट्रेकिङ्ग वा ट्राभल्स वा दुबै अप्सन राखी सोहीअनुसार बैंक ग्यारेन्टी राख्न र अनुमति शुल्क लिन सकिने व्यवस्था गर्ने । 

१२. नियमित पर्यटकहरुका साथै शैक्षिक अध्ययन भ्रमण र कुनै विशेष भ्रमणमा आउने कतिपय पर्यटकहरुले २ केजीसम्म तौल भएका साना ड्रोनको उडान अनुमतिका लागि नागरिक उड्डयन प्राधीकरणले  अनलाइनबाट अनुमति दिने व्यवस्था गर्ने वा सम्बन्धित स्थानीय निकाय वा प्रशासन कुनै एक निकायबाट अनुमति लिई सम्बन्धित सबै निकायलाई बोद्धार्थ दिने व्यवस्था गर्ने । 

१३.उपरोक्त बमोजिमका व्यवस्थाहरु गर्नुका साथै गुणस्तरीय पर्यटकहरु भित्र्याउन आवश्यक दक्ष जनशक्तिको उत्पादन, गुणस्तरीय पर्यटकीय सेवा सुविधाहरुको व्यवस्था, गुणस्तरीय पर्यटकीय संरचनाको निर्माण गरी गुणस्तरीय पर्यटकहरु भित्र्याउन विश्वभरका ख्यातिप्राप्त न्युज मिडियाहरु, ट्राभल बुक राइटरहरु, डकुमेन्ट्री तथा फिल्मउत्पादकहरु तथा पर्यटन व्यवसायीहरुलाई आव्हान गरेर पर्यटन प्रवद्र्धन गर्ने गराउने । 

१४. स्थानीय ताजा स्वस्थ्यकर उत्पादनबाटै नेपाली तथा विदेशी खानाका परिकारहरु बनाएर पर्यटकहरुलाई पस्कने गरेमा यहाँको स्थानीय उत्पादनमा वृद्धि हुनुका साथै स्थानीय स्तरमा रोजगारी वृद्धि भई देशको अर्थतन्त्रमा दीगो सुधार हुनेछ ।  

१५. केही पर्यटन व्यवसायीहरुले नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंकहरुबाट स्वःस्फूर्त रुपमा विशेष आर्थिक सहुलियत पाएको भए पनि तत्काल अर्थतन्त्र उकास्न सकिने यस क्षेत्रका व्यवसायी तथा पेशागत जनशक्तिलाई जोगाई राख्न राज्यले पनि विशेष आर्थिक सहुलियतको व्यवस्था गर्नुपर्छ । यसमा दिइएको सहुलियत र पर्यटक आगमन तथा पर्यटकीय गतिविधिको सहज व्यवस्थाले पर्यटकहरुको आगमनका निकै वृद्धि भई ठूलो मात्रामा विदेशी मुद्रा देशमा भित्रिनेछ र तत्कालै देशको अर्थतन्त्रमा सकारात्मक असर देखिनेछ, आदि । 
(लेखक पर्यटन व्यवसायी हुन् ।)