– अर्जुन तिमिल्सिना

काठमाण्डौ । कोरोना महामारीका कारण शिथिल बनेका वाणिज्य बैंकहरु पछिल्लो समय भने व्यापार बढाउन निकै आक्रामक देखिएका छन्।

तरलता कम गर्न ब्याजदर घटाएर अहिले वाणिज्य बैंकहरुले धमाधम कर्जा लगानी बढाएका छन् भने निक्षेप संकलनमा पनि आक्रामक देखिएका छन्। यसबीच नेप्सेमा सूचीकृत वाणिज्य बैंकहरु प्रायः सबैले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। 

दोस्रो त्रैमाससम्मको नाफा आर्जनको हिसाबले ग्लोबल आईएमई बैंक अब्बल देखिएको छ। यो बैंक यस अवधिसम्म २ अर्ब ३१ करोड नाफा आर्जन गरेको छ। समीक्षा अवधिसम्म बैंकले गरेको नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ३७.३२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ६८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

नाफा आर्जनको हिसाबले दोस्रो नम्बरमा एनआईसी एसिया बैंक रहेको छ। यो बैंकले २ अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा २.१९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

तेस्रो नम्बरमा नबिल बैंक रहेको छ। यो बैंकले २ अर्ब १ करोड नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १.२७ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

प्राइम कमर्सियल बैंकले नाफामा आकर्षक प्रगति गर्दै चौथो नम्बरमा रहेको छ। यो बैंकले १ अर्ब ८१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३९.४० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ३० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

पाँचौँ नम्बर एनएमबि बैंक देखिएको छ। यो बैंकले १ अर्ब ६१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ४७.६९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
यसैगरी नाफा आर्जनको हिसाबले छैटौँ, सातौँ र आठौँ नम्बर क्रमशः प्रभु बैंक, नेपाल बैंक र कृषि विकास बैंक रहेका छन्। यी बैंकहरुले क्रमशः १ अर्ब ५१ करोड, १ अर्ब ३५ करोड र १ अर्ब ३२ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। 

त्यस्तै नवौँ र दसौँ नम्बर कुमारी र सानिमा बैंक रहेका छन्। कुमारी बैंकले १ अर्ब २१ करोड रुपैयाँ नाफा आर्जन गर्दा नेपाल इन्भेस्टमेन्ट बैंकले भने १ अर्ब १७ करोड रुपैयाँ मुनाफा गरेको छ। 

प्रतिसेयर आम्दानी (ईपीएस)

ईपीएसको तथ्यांक हेर्दा एनआईसी एसिया अग्रस्थानमा छ। यो बैंक ईपीएस ३५.६४ रुपैयाँ रहेको छ। दोस्रो नम्बरमा ईपीएस २९.९१ रुपैयाँसहित नबिल बैंक रहेको छ। तेस्रो, चौथो र पाँचौँमा क्रमशः एनएमबि, प्राइम कमर्सियल र एभरेस्ट बैंक रहेका छन्। यी बैंक ईपीएस क्रमशः २३.४ रुपैयाँ,  २२.५५ रुपैयाँ र २१.६३ रुपैयाँ रहेको छ। 

मूल्य आम्दानी अनुपात (पीई रेसियो) 

बजारमा पीई रेसियो जति थोरै भयो उति राम्रो मानिन्छ । अन्तर्राष्ट्रिय मापदण्डमा १७ गुणाभन्दा तललाई कम्पनीको सेयर अन्डरभ्यालू भएको छ। अहिले अन्डरभ्यालू भएका कम्पनीमा प्रभु बैंक देखिएको छ। यो बैंक पीई रेसियो १५.३२ गुणा रहेको छ। दोस्रोमा १५.८४ गुणा पीई रेसियोसहित ग्लोबल आईएमई बैंक रहेको छ भने १६.०१ पीई रेसियोसहित माछापुच्छ्रे बैंक तेस्रो नम्बरमा रहेको छ। यसैगरी १६.१९ गुणा पीई रेसियोसहित कुमारी बैंक चौथो स्थान र १६.७६ पीई रेसियोसहित सानिमा बैंक पाँचौँ स्थानमा छ। 

प्रतिसेयर खुद मूल्य (नेटवर्थ)

नेटवर्थ जति धेरै भयो उति राम्रो मानिन्छ । यो हिसाबले नेपाल बैंक नेटवर्थ २५३.१८ रुपैयाँसहित पहिलो नम्बरमा छ। दोस्रो नम्बरमा एभरेस्ट बैंक २१८.९३ रुपैयाँ र तेस्रोमा २१८.८८ रुपैयाँ नेटवर्थसहित कृषि विकास बैंक रहेको छ। त्यस्तै २१४.०८ रुपैयाँ नेटवर्थसहित नबिल बैंक चौथो स्थानमा र एनआईसी एसिया बैंक १६६.३२ रुपैयाँ नेटवर्थसहित पाँचौँ स्थानमा रहेको छ। 

निष्क्रिय कर्जा (एनपीएल) 

निष्क्रिय कर्जा जति थोरै भयो उति राम्रो मानिन्छ । यो हिसाबले एभरेष्ट बैंक ०.१९ प्रतिशतसहित अग्रस्थानमा रहेको छ। एनआईसी एसिया ०.४३ प्रतिशतसहित दोस्रो र सानिमा बैंक ०.५८ प्रतिशत निष्क्रिय कर्जा दरसहित तेस्रो स्थानमा छन्। नबिल बैंक ०.६ प्रतिशतसहित चौथो र कुमारी बैंक १.०४ प्रतिशतसहित पाँचौँ स्थानमा छ। 

जगेडा कोष (रिजर्भ)

कुनै पनि बैंक तथा वित्तीय संस्थाको जगेडा कोषको आकार जति बढी भयो उति राम्रो मानिन्छ । यो हिसाबले सबैभन्दा बढी नबिल बैंकको जगेडामा १५ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। त्यस्तै एभरेस्ट बैंकको जगेडामा ८ अर्ब ४७ करोड रुपैयाँ, ग्लोबल आईएमई बैंकको ७ अर्ब ७० करोड रुपैयाँ, एनआईसी एसिया बैंक ६ अर्ब ९६ करोड रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ।