काठमाण्डौ । आन्तरिक राजस्व विभागले बढी आयकर तिर्ने १५ करदाता घोषणा गरेको छ। यी करदातालाई विभागले सम्मानित गर्ने छ।

राजस्व सचिव रामशरण पुडासैनीको अध्यक्षमा आइतबार विभागमा भएको नवौँ कर दिवस समापन कार्यक्रममा ठूला करदाताको नाम घोषणा गरिएको हो। विभागका अनुसार गत आर्थिक वर्षमा व्यक्तिगत रूपमा देशलाई सबैभन्दा बढी कर तिर्नेमा विजयकुमार शाह छन्। शाहका जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन, विजय डिस्टिलरीलगायतका कम्पनी छन्। ती कम्पनीबाट रुस्लान भोड्का, गोल्डेन ओक र वार्सटाइनर बियर उत्पादन हुने गर्छ।

यसैगरी गत वर्ष सबैभन्दा धेरै आयकर तिर्नेमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल परेको छ। यो कम्पनीले गत वर्ष ५ अर्ब ३१ करोड आयकर तिरेको थियो। यस्तै भ्याटतर्फ ३ अर्ब ८७ करोड कर तिरेको थियो।

विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने आइएई रेमिटेन्स कम्पनी छ। आइएमई यसअघि पनि धेरै आयकर तिर्नेमा सम्मानित हुँदै आएको थियो। 

व्यापार व्यवसायतर्फ धेरै आयकर तिर्नेमा अग्नि इन्कर्पोरेटेड रहेको छ। यो महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता हो।

यस्तै निर्याततर्फ सबैभन्दा धेरै आयकर तिर्ने बहुराष्ट्रिय कम्पनी डाबर नेपाल, कृषि तथा पशुपन्छी उद्योगमा अन्नपूर्ण एग्रोभेट प्राइभेट र हिमाल पावर पनि रहेका छन्। 

सहकारीतर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा छिमेकी लघुवित्त छ। बैंकतर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा नबिल बैंक परेको छ। बीमातर्फ नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै आयकर तिरेको छ।
शिक्षण सेवातर्फ सबैभन्दा धेरै आयकर तिर्ने मणिपाल मेडिकल कलेज रहेकोछ। पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी परेको छ। भीएस सर्भिसेस प्रालिले पनि धेरै आयकर तिर्ने कम्पनीमा परेको छ। 

मध्यमस्तरीय करदातामध्ये सबैभन्दा धेरै आयकर तिर्नेमा कामना सेवा बैंक र मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ सबैभन्दा धेरै कर तिर्ने घोराही सिमेन्ट छ। 

प्रायः बढी आयकर तिर्नेहरुलाई मंसिर १ गते मनाइने कर दिवसका अवसरमा सम्मानित गरिन्थ्यो। यसपालि कोरोना महामारी र ठूला चाडपर्व परेकाले औपचारिक कार्यक्रम हुन सकेन। सोही कारण अब कोरोना संक्रमण कम भएपछि औचापरिक कार्यक्रम गरी बढी कर तिर्नेलाई सम्मान गरिने राजस्वय सचिव पुडासैनीले जानकारी दिए।