काठमाण्डौ । संसारमा मानिसको आवश्यकतालाई पूर्ति गर्न एउटा वस्तुलाई अर्को वस्तुसँग साटफेर गर्ने चलन थियो। विकासक्रमसँगै वस्तुको विनिमय गर्न नगद (सिक्का वा नोट) प्रचलन सुरु भयो। अहिले संसार डिजिटल युगमा प्रवेश गरेको छ। 

नगदको सट्टामा अहिले डिजिटल भुक्तानीको प्रचलन बढ्दै गएको छ। विश्वमा अहिले विभिन्न डिजिटल मुद्राको प्रयोगको पनि बढ्दै गएको छ। 

अब संसारमा सर्वमान्य अंग्रेजी भाषा र डलरको पनि विकल्प होला ? यी र यस्तै विषयमा अहिले विश्व बजारमा चर्चा हुन थालेको छ। 

विश्वमा अहिले ६ हजारभन्दा बढी क्रिप्टोकरेन्सी चलनचल्तीमा छन्। तर, सबै चर्चामा छैनन्। 

केही वर्षदेखि डिजिटल मुद्राका रुपमा उदाएको क्रिप्टोकरेन्सीहरुमा बिटक्वाइन अहिले बजार पुँजीकरण र मूल्यका आधारमा सबैभन्दा माथि छ। बिटक्वाइनको कुल बजार पुँजीकरण ८ खर्ब ५०  अर्बभन्दा बढी डलर रहेको छ। 

यसैगरी बजार पुँजीकरणका हिसाबले अर्को क्रिप्टोकरेन्सी इथेरियम ३ खर्ब ८४ अर्ब डलरका साथ दोस्रो स्थानमा छ। कारडानो ७३ अर्ब डलरका साथ तेस्रो, टिथर ६८ अर्ब डलरका साथ चौथो र बाइनान्स ६६ अर्ब डलरका साथ पाँचौँ स्थानमा छन्। 

बजार पुँजीकरणका आधारमा एक्सआरपी, सोलान, डोजक्वाइन, यूएसडी र पोल्काडो क्रमशः छैटौँदेखि दसौँ स्थानमा छन्। यिनीहरुको बजार पुँजीकरण क्रमशः ४९ अर्ब डलर, ४५ अर्ब डलर, ३१ अर्ब डलर, २८ अर्ब डलर र २५ अर्ब डलर रहेको छ। 

हाल विश्व बजारमा डिजिटल मुद्राको माग र उपयोगिता बढेसँगै डलरको प्रतिस्थापन पनि हुनसक्ने चर्चा चल्न थालेको छ। विश्वमा डिजिटल मुद्रालाई कानुनी रुपमा भक्तानीका लागि स्वीकार गर्ने पहिलो देश एल साल्भाडोर बनेको छ। पानामाले पनि डिजिटल मुद्रालाई स्वीकार्दैछ। 

अमेरिकाकै म्यारिल्यान्डमा बसोबास गर्ने कम्प्युटर इन्जिनियर तुल ब्रेभ पराजुलीले विश्व बजारमा डिजिटल मुद्राको प्रयोगसँगै डलरको पनि प्रतिस्थापन हुन सक्ने बताए। विभिन्न राष्ट्रहरुले प्रतिबन्ध लगाएसँगै क्रिप्टोकरेन्सीको मूल्यमा तलमाथि भइरहेको पनि पराजुलीको भनाइ छ। 

विश्व बजारमा बिट्क्वाइनपछि कारडानो तथा इथेरियमाको उच्च माग रहेको पनि पराजुली बताउँछन्। ‘हाल विश्व बजारमा एक्सआरपीको पनि माग रहेको छ। किनकि यो विश्वविख्यात कम्पनी रिप्पलको प्रडक्ट हो र यो सेन्ट्रलाइज भएकोले पनि यो उच्च माग रहेको छ’, उनले भने, ‘हाल यसको मूल्य घट्नुको कारण अमेरिकी सरकारसँग द्वन्द्व भएकोले नै हो।’