काठमाण्डौ । बहुप्रतिक्षित नेपालकै इतिहासमा हालसम्मकै ठूलो आईपीओमा आज शुक्रबारबाट आवेदन खुलेको छ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को हालसम्मकै ठूलो आईपीओमा आवेदन खुलेको हो। यो आईपीओले केही दिनयता प्राथमिक बजारमा तरंग नै र्सिजना गरेको छ।

यही आईपीओ भर्नका लागि पछिल्लो केही दिनदेखि मर्चेन्ट बैंकहरुमा डिम्याट खोल्ने सर्वसाधारणको संख्या अचाक्ली बढेको छ। अधिकांश मर्चेन्ट बैंकहरुमा हिजोआज यही आईपीओलाई लक्षित गरी डिम्याट खोल्न आउने सर्वसाधारणको भीड नै लाग्ने गरेको छ।

यसअघिका अधिकांश कम्पनीका आईपीओहरु लक्की ड्रबाट आवेदकले १० कित्ताका दरले सेयर पाइरहेकै बेला यो बैंकको आईपीओमा भने कसैको खालि हात नहुने र अझ ५० देखि ७० कित्तासम्म हात पर्ने आशाले लगानीकर्ताहरु झुम्मिएका छन्। 

सर्वसाधारणले त ५० कित्ताभन्दा माथि नै आईपीओ हात पार्लान तर यस्ता ३० जना भाग्यमानीहरु पनि छन्, जसले सहजै जनही ५३३३.३३ कित्ता आईपीओ हात पार्दैछन्। 

यी भाग्यमानी हुन्, यही बैंकका कर्मचारीहरु । किनकि यो बैंकले आजबाट निष्कासन गरेको १०० रुपैयाँ अंकित दरका कुल ८ करोड कित्ताको ०.२ प्रतिशतले हुन आउने १ लाख ६० हजार कित्ता कर्मचारीका लागि छुट्याएको छ। यो हिसाबले बैंकका ३० कर्मचारीलाई दामाशाहीले भाग गर्दा पनि प्रत्येक कर्मचारीले प्रतिकित्ता रु. १०० लगानी गरेर ५३३३.३३ कित्ता आईपीओ हात पार्नेछन्। 

धितोपत्र बजारमा ज्वाइँसमान रहेका म्युचुअल फन्डहरुले पनि यो आईपीओमा राम्रै सेयर हात पार्ने भएका छन्। यो समूहलाई पनि कुल कित्ताको ५ प्रतिशतले हुन आउने अर्थात् ४० लाख कित्ता छुट्याइएको छ। यो हिसाबले हाल रहेका १८ वटा म्युचुअल फन्डले दामाशाहीमा २ लाख २२ हजार २२२.२२ कित्ता आईपीओ पाउनेछन्। 

बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्तामा भने सर्वसाधारण आवेदन दिन सक्नेछन्। आवेदन दिने समय छिटोमा माघ ६ गते र ढिलामा माघ १६ गते बैंकिङ समयसम्म तोकिएको छ।