काठमाण्डौ । एनआईसी एसिया बैंकले तीन कम्पनीमा रहेका आफ्नो स्वामित्वको पौने ८ लाख बढी कित्ता संस्थापक सेयर आज (साउन ३ गते) बाट लिलामीमार्फत बिक्रीमा राखिएको छ।

एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स र नागरिक लगानी कोषका कुल ७ लाख ७५ हजार ४७३ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। जसमा आरएमडीसीको ३ लाख १९ हजार ६५ कित्ता, मेरो माइक्रोफाइनान्सको १ लाख ६ हजार ३९ कित्ता र नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता रहेका छन्। 

लिलामीमा राखिएका सेयरको प्रतिकित्ता आरएमडीसीको ४८१ रुपैयाँ, मेरोको ५४१ कित्ता र नागरिक लगानी कोषको १ हजार २२१ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लिलामी सेयरमा प्रचलित कानुनबमोजिम योग्य लगानीकर्ताहरुले बोलपत्र पेस गर्न सक्नेछन्। 

यी तीनै कम्पनीमा लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन पेस गर्न सक्नेछन्। 

आरएमडी र मेरो माइक्रोफाइनानसको सेयरका लागि काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटल लिमिटेडमा बोलपत्र पेस गर्नुपर्नेछ। यसैगरी नागरिक लगानी कोषको सेयरका लागि काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयका साथै काठमाण्डौको थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय वा शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगर, सुर्खेतमा बोलपत्र पेस गर्न सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति साउन १५ गते बैंकिङ समयसम्म तोकिएको छ।