काठमाण्डौ । नयाँ पुनर्बीमा कम्पनी सञ्चालनको अनुमति माग्र्दै ५ वटा कम्पनीले नियामक बीम समितिसमक्ष प्रस्ताव पेस गरेका छन्।

बीमा समितिले पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक रहेको जनाउँदै निजी क्षेत्रको लगानीमा थप एउटा पुनर्बीमा कम्पनीको स्थापनाका लागि गत वैशाख २६ गते प्रस्ताव पेस आह्वान गरेको थियो । प्रस्ताव पेस गर्ने हिजो जेठ ५ गते अन्तिमा दिन रहेको थियो। 

हिजो बुधबारसम्म नयाँ पुनर्बीमा कम्पनी सञ्चालनको अनुमति माग्दै अन्नपूर्ण रि, प्रुडेन्सियल रि, काठमाण्डौ रि, हिमालयन रि र जेन्यून रिइन्सोरेन्स कम्पनीले प्रस्ताव पेस गरेको बीमा समितिले जनाएको छ। 

यी ५ कम्पनीका प्रस्तावमध्ये बीमा समितिबाट तयार हुने मूल्यानंकनका आधारमा उच्चतम अंक प्राप्त गर्ने एउटा प्रस्तावकलाई छनोट नयाँ पुनर्बीमा कम्पनी सञ्चालनको अनुमति दिइने बीमा समितिले जनाएको छ। 

हाल नेपालमा एउटामात्रै नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा छ। यो सरकारी स्वामित्वको कम्पनी हो। 

निजी लगानीमा स्थापना हुने नयाँ पुनर्बीमा कम्पनीको चुक्तापुँजी १० अर्ब रुपैयाँ हुनेछ ।

बीमा समितिले निजी लगानीमा नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि गत फागुनमा अध्ययन समिति बनाएको थियो। अध्ययन समितिले नेपालमा थप एक पुनर्बीमा कम्पनीको आवश्यकता रहेको निष्कर्षसहितको प्रतिवेदन बीमा समितिलाई बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा बीमा समितिले निजी लगानीमा नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रक्रिया अगाडि बढाएको हो।