काठमाण्डौ । औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ।

विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानी पुर्याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो। बजारमा बिक्रीवितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमुना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसाउन मेथानोल भेटिएपछि उत्पादन तथा बिक्रीवितरणमा रोक लगाइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार सुनसरीको सीता हर्बलले उत्पादन गरेको ५० मिलिलिटरमा ८० प्रतिशत र ५०० मिलिलिटरको स्यानिटाइजरमा ८८ प्रतिशत मेथानोल भेटिएको छ। 

यस्तै सुनसरीकै मकालु जडीबुटी, मोरङको सुनिमा आयुर्वेद कम्पनी, ललितपुरको एमके हर्बल र मोरङकै ग्यालेक्सी डेन्टल एन्ड सर्जिकलले उत्पादन गरेका स्यानिटाइजरमा मेथानोल भेटिएको हो।    

प्रतिबन्ध लगाइएका उद्योग तथा कम्पनीका उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै विभागले तत्काल बजारमा बिक्रीवितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ। यसअघि विभागले गुणस्तरहीन भएकाले भारतीय, चिनियाँ तथा नेपाली उद्योगले उत्पादन गरेका विभिन्न कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाइसकेको छ।

-RSS