काठमाण्डौ । लाभांश पारित र मर्जर प्रक्रियाको थालनी गर्ने मुख्य अजेन्डासहित युनाइटेड फाइनान्स लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

संस्थाको हिजो शनिबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते मंगलबार काठमाण्डौको बबरमहलस्थित कार्की बैंक्वेटमा गर्ने निर्णय गरेको हो ।

सभामा मुख्य अजेन्डाका रुपमा राखिने गत वर्षको मुनाफाबाट संस्थाले आफ्नो सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल १०.५२ प्रतिशत लाभांश अनुमोदन हुनेछ ।

संस्थाले हाल कायम चुक्ता पुँजी १ अर्ब १ करोड ५ लाख १९ हजार १०० रुपैयाँको ७.५२ प्रतिशतले हुन आउने ७ करोड ६० लाख ५४ हजार ८५६.६२ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) र ३ प्रतिशतले हुन आउने ३ करोड ३ लाख १५ हजार ५७२.२२ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी बोनस सेयर जारी भएपछि संस्थाको अधिकृत पुँजी,जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि हुने भएकोले पुँजी वृद्धिलगायतका विषयहरु समावेश गरी सस्थाको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित हुनेछ ।

सभामा अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्न तथा गाभिने प्रक्रिया अघि बढाउनका लागि सञ्चालक समितिलाई अख्प्रिदान गर्ने प्रस्ताव पनि पारित हुनेछ । गाभ्ने तथा प्राप्तिसम्बन्धी हस्ताक्षर गर्ने, मूल्यांकनकर्ता नियुक्ति गर्नेजस्ता सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।

यसैबीच साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले पुस ९ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात् पुस ८ गतेसम्म कायम सेयरधनीहरुमात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।