काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओपमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ।

कम्पनीले गत मंसिर ३ गतेबाट सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ७३ हजार ९१० कित्ता आईपीओ निष्कासन गरेको छ। उक्त आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ। 

निष्कासन गरिएको कुल सेयर संख्यामध्ये ४३ हजार ६९६ कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ८ लाख १२ हजार ७३६ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। 

त्यसो गत बुलिस गतिमा दौडिरहेको दोस्रो बजारको प्रभाव प्राथमिक बजारमा पनि प्रस्ट रुपमा देखिन थालेको छ। सोही कारण विभिन्न कम्पनीहरुले पछिल्लो समय निष्कासन गरिरहेका आईपीओमा थामिनसक्नु आवेदन पर्न थालेका छन्। 

यसैको प्रभाव यो कम्पनीको आईपीओमा परेको छ। यो आईपीओमा तेस्रो दिन शुक्रबार अपराह्नसम्म मागभन्दा ७.५८ गुणा बढी सेयरका लागि आवेदन परिसकेको छ। ग्लोबल आईएमई क्यापिटलका अनुसार शुक्रबार अपराह्नसम्म ३ लाख ५४ हजार ५८१ आवेदकले ६६ लाख २२ हजार १६० कित्ता खरिदका लागि आवेदन दिएका छन्।  

कम्पनीको यो आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ प्रदान गरेको छ। यो रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

यो कम्पनीको कास्कीको ल्वाङघलेमा रहेको मार्दी खोलामा ७ मेगावाट क्षमताजडित अपरमार्दी हाइड्रोपावर प्रोजेक्ट रहेको छ। कम्पनीको मुख्य कार्यालय ललितपुरको सानेपामा रहेको छ।