काठमाण्डौ । भर्खर आईपीओ निष्कासन गरेको युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको सेयर आज आइतबारबाट धितोपत्र दोस्रो बजारमा नियमित कारोबार खुलेको छ।

आज स्पेसल प्रिसेनमा यो कम्पनीको सेयर प्रतिकित्ता २९६ रुपैयाँमा कारोबार भएसँगै आजबाट नियमित समय (बिहान ११–दिउँसो ३ बजे) सम्मको कारोबार खुलेको हो। 

नेप्सेले यो कम्पनीलाई कारोबार 'यूएमआरएच' कोड प्रदान गरेको छ भने आज हुने पहिलो कारोबारका लागि ९८.७९ रुपैयाँदेखि २९६.३७ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो।  

यो समाचार तयार पार्दासम्म यो कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागिसकेको छ। कम्पनीको सेयरमूल्य झन्डै १० प्रतिशतले बढेको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) र यो कम्पनीबीच गत शुक्रबार धितोपत्र सूचीकरण सम्झौता भएको छ। कुनै पनि कम्पनीको धितोपत्र सूचीकरण सम्झौता भएको दोस्रो दिन कारोबारमा आउने हुँदा यो कम्पनीको सेयर पनि आइतबारबाट कारोबारमा आउने पक्का भएको हो। 

नेप्सेमा यो कम्पनी ४२ लाख कित्ता सूचीकृत भएको छ।