काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ। यसका साथै कम्पनीको आव २०७७/७८ को असार मसान्तसम्मको नाफानोक्सान हिसाब, वासलात, नगद प्रभाह विवरणका बारेमा संंक्षिप्त जानकारी दिइएको थियो। 

कम्पनीका सञ्चालक समितिका अध्यक्षबाट कम्पनी स्थापना भएको २८ औँ वर्षमा कम्पनीले प्रकाशित गरेको आव २०७७/७८ को चौथो वित्तीय विवरणअनुसार कम्पनीले बीमाशुल्क आर्जनमा ५१.२५ प्रतिशतले वृद्धि गर्दै पहिलोपटक बीमा क्षेत्रको अर्ब क्लबमा प्रवेश गर्न सफल भएको तथा मुनाफा आर्जनमा ३०० प्रतिशतभन्दा बढिले वृद्धि गर्न सफल भएको जानकारी गराए। कम्पनीको उक्त सफलतप्रति सम्पूर्ण सेयरधनीले हर्ष व्यक्त गर्दै सञ्चालक समिति तथा व्यवस्थापनलाई धन्यवाद तथा बधाइ ज्ञापन गरे। 

सभामा कुल बीमाशुल्क आम्दानी रु. ६९ करोड ८९ लाख ३ हजार ९८३.८२ आर्जन भएको र कम्पनीको चुक्तापुँजी रु. ३० करोड २४ लाखमा २४० प्रतिशतले वृद्धि गरी १ अर्ब २ करोड ८१ लाख ६० हजार भएको जानकारी गराइयो । यसका साथै आर्थिक वर्ष २०७७/७८ का लागि बाह्य लेखापरीक्षक एमजीएस एसोसिएट्स चार्टर्ड अकाउन्टेन्टसलाई नियुक्त गरिएको पनि कम्पनीले जनाएको छ। 

कम्पनीले आगामी दिनमा कम्पनीको शाखा तथा सेवाको गुणस्तरमा विस्तार गर्दै विकासको पथमा तीव्र गतिमा अगाडि बढ्न सेयरधनीबाट कम्पनीको व्यवस्थापनलाई सुझाव प्रदान गरेको छ। व्यवस्थापनबाट सोहीबमोजिम कार्य गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।