काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २८ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। 

काठमाण्डौको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा भएको सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०७८ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित भएको छ। 

सभाले आर्थिक वर्ष २०७८/७९ का लागि बाह्य लेखापरीक्षक एमजीएस एसोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ। 

सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनी समूह (क) तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक र सर्वसाधारण सेयरधनी समूह (ख) तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन मार्फत चयन गरेको छ। 

कम्पनीको चुक्तापुँजी रु. २ अर्ब ५० करोड पुर्याउन कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्णय गर्न तथा त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नका लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्नलगायतका मर्जरसम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको छ।