काठमाण्डौ। युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा आज भैरहवामा सम्पन्न भएको छ।

आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभाले महत्वपूर्ण निर्णयहरु गर्नुका साथै नयाँ सञ्चालक चयन गरेको छ। सभाले कम्पनीको संस्थापक समूहतर्फ शुलभ अग्रवाल, सन्दीपकुमार अग्रवाल, जीवनकुमार अग्रवाल र सीमा गोल्छा तथा सर्वसाधारण समूहतर्फ सीताराम अग्रवाल र सचिन आचार्यलाई निर्विरोध चयन गरेको छ। निर्वाचित सञ्चालकहरुको आजै बसेको सञ्चालक समितिको बैठकले सञ्चालक शुलभ अग्रवाललाई अध्यक्षमा चयन गरेको छ।

यसैगरी सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षककोे नियुक्ती सर्वसम्मत रुपमा गरेको छ। सभाले प्रमुख कार्यकारी अधिकृत र स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्ति भएको विषयलाई सर्वसम्मतीले अनुमोदन गरेको छ। 

त्यस्तै बीमा समितिले तोकेको समयभित्र ५ अर्ब चुक्तापुँजी पुर्याउन अन्य जीवन बीमा कम्पनीबीच आपसमा मर्ज हुने (गाभ्ने/गाभिने), प्राप्ति गर्ने एक्विजिसन) गर्ने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ। बीमा समितिले २०७९ चैत मसान्तभित्र जीवन बीमा कम्पनीको चुक्तापुँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको छ। 

कम्पनी मर्जरका लागि विस्तृत लेखापरीक्षण (डीडीए) गर्नका लागि मूल्यांकनकर्ता नियुक्त गर्ने प्रयोजनका लागि पनि सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ।