काठमाण्डौ । गत आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्तावित लाभांश पारित गर्न युनिलिभर नेपाल लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ।

कम्पनीले आउँदो मंसिर १६ गते भिडियो कन्फ्रेन्सिङका माध्यमबाट कम्पनीको कर्पोरेट अफिस (सिटी स्क्वेयर बिल्डिङ) मा सभा गर्ने भएको छ। सभाले सञ्चालक समितिले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको प्रतिकित्ता १०० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

सभाले कम्पनीको व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गतका परियोजनाहरुको खर्चलाई पारित गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधनलगायतका प्रस्तावहरु पनि अनुमोदन गर्नेछ। 

लाभांश वितरण र साधारणसभा प्रयोजनार्थ कम्पनीले यही कात्तिक २७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब कात्तिक २६ गतेसम्म कायम सेयरधनीहरुमा लाभांश प्राप्ति र साधारणसभामा भाग लिन योग्य हुनेछन्।