काठमाण्डौ। कोरोनाभाइरस महामारीका कारण युरोपमा यस वर्ष कार बिक्रीमा २५ प्रतिशतले कमी आएको छ। 

युरोपेली कार उद्योग समूहले कार उत्पादन कारखानाले ठूलो आर्थिक संकटको सामना गर्न लागेको जनाएको छ। 

युरोपेली अटोमोबाइल उत्पादक संघ (एसीइए) ले युरोपेली युनियन र सदस्य राष्ट्रका सरकारहरुलाई उद्योग बचाउन र रोजगारी गुम्न नदिने परिस्थिति निर्माण गर्न पनि आह्वान गरेको छ। 

युरोपमा कार बिक्रीमा व्यापक गिरावट आउने जनाउँदै एसीइएले जारी गरेको विज्ञप्तिमा सन् २०१९ मा करिब १ करोड २८ लाख थान कार बिक्री भएकामा यस वर्ष सन् २०२० मा करिब ३० लाख थान कार बिक्री घट्ने उल्लेख छ। अर्थात् यस वर्ष करिब ९६ लाख थान कार मात्र बिक्री हुनेछन्। 

यस वर्ष  कोरोनाभाइरस महामारी रोक्न जारी गरिएका लकडाउन र प्रतिबन्धहरुको असरका कारण कार बजार करिब ४१.५ प्रतिशतले खुम्चिएको छ। तर एसीइएले प्रतिबन्धहरु खुकुलो हुन थालेकाले परिस्थितिमा केही सुधार हुने अपेक्षा राखिएको जनाएको छ। 

एसीइएले युरोपको अटोमोबाइल क्षेत्रले धेरैपछि असामान्य परिस्थितिको सामना गर्नु परेको जनाएको छ। यी नकारात्मक असरलाई युरोपेली युनियन र सरकारहरुले राजनीतिक र आर्थिक मद्दतका आधारमा मिलेर मात्र हल गर्न सक्ने इसीइएले बताएको छ। - रासस/एएफपी