काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस नियन्त्रणमा अहिले भ्याक्सिन नै अचुक अस्त्रका रुपमा देखिएको छ। तर संकट अझै पनि कायमै छ। 

युरोपको रोग नियन्त्रण एजेन्सीले अहिले कोरोनाको डेल्टा भेरियन्टलाई लिएर चिन्ता व्यक्त गरेको छ। युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल (ईसीडीसी) ले आशंका गरेको छ कि आउँदो अगस्टको अन्त्यसम्म युरोपमा जति पनि कोरोना संक्रमण नयाँ केस देखिने, तीमध्ये ९० प्रतिशत डेल्टा भेरिन्टकै कारण हुनेछ। 

डेल्टा भेरियन्ट सबैभन्दा पहिले भारतमा देखिएको थियो। हाल भारतमा कोरोना संक्रमणका केसहरु निकै घटेको छ। तर दोस्रो लहरको कोरोना कहर डेल्टा भेरियन्टकै कारण मच्चिएको भारतीय अधिकारीहरुले बताएका छन्। 

ईसीडीसीका निर्देशक एन्ड्रिया अम्मोनले गर्मीयाममा युरोपमा डेल्टा भेरियन्टले तीव्र रुपमा संक्रमण बढाउन सक्ने आशंका व्यक्त गरेका छन्। डेल्टा भेरियन्ट हाल युरोपमा देखिइरहेको अल्फा भेरियन्टभन्दा ६० प्रतिशतभन्दा बढीले फैलिन सक्ने अनुमान गरिएको छ। डेल्टा भेरियन्टलाई नियन्त्रण गर्न कोरोनाविरुद्धको खोप नै प्रभावकारी हुन सक्ने भएकोले खोप अभियान तीव्र पार्न डीसीडीसीले युरोपेली मुलुकहरुलाई आग्रह गरेको छ। – एजेन्सी