काठमाण्डौ । युरोपका केही देशमा फेरि कोरोनाभाइरस संक्रमणका मामिला बढ्न थालेको छ। 

अस्ट्रिया, नेदरल्यान्ड्स, जर्मनी, इटली र बेलायतमा कोरोना संक्रमणको मामिला बढ्न थालेको हो। योसँगै ती देशहरुमा विभिन्न प्रतिबन्धात्मक उपाय अपनाउनुका साथै खोप अभियानलाई तीव्रता दिन थालिएको छ।

अस्ट्रियाले सोमबारदेखि राष्ट्रभरि पूर्ण लकडाउनको घोषणा गरेको छ। यो लकडाउन २० दिनसम्म रहन सक्ने बताइएको छ।

अस्ट्रियामा पश्चिम युरोपकै सबैभन्दा धेरै संक्रमण देखिएको छ। त्यहाँ कमैले मात्रै खोप लगाएका छन्। त्यसैले अस्ट्रियामा सन् २०२२ फेब्रुअरी १ देखि कोभिड खोपलाई लगाउनैपर्ने कानुनी बाध्यता बनाइएको छ।

अस्ट्रियामा अहिले प्रतिएक लाख जनसंख्यामा १ हजार ५० जनाको दरले संक्रमण भएको त्यहाँको सरकारी तथ्यांकले देखाउँछ। त्यहाँको कुल ९० लाख जनसंख्या रहेको छ। 

लकडाउनमा अस्ट्रियाली नागरिकलाई घरबाटै काम गर्न भनिएको छ। अत्यावश्यक बाहेकका व्यापार व्यवसाय बन्द गरिने छन्।

यसैगरी जर्मनीमा भने गएको साता दैनिक अत्याधिक संक्रमण देखिएको छ। त्यहाँका स्वास्थ्यमन्त्री यान्स स्पानले यसलाई ‘एकीकृत राष्ट्रिय बल आवश्यक पर्ने एउटा राष्ट्रिय आपत्काल’ भनेका छन्।

यसको नतिजास्वरुप जर्मनीले खोप नलगाएका व्यक्तिलाई थप कडाइ गरिने बताएको छ।

अस्पताल भर्ना धेरै भएका स्थानमा खोप नलगाएका व्यक्तिलाई प्रतिबन्धहरु लगाउन चान्सलर एंगेला मेर्कल र जर्मनीका १६ प्रान्तका नेता सहमत भएका छन्।

नयाँ नियमानुसार खोप नलगाएका व्यक्तिलाई खेल स्थल, सांस्कृतिक कार्यक्रम र रेस्टुराँजस्ता स्थानमा प्रवेश निषेध गरिनेछ।

महामारीयता सबैभन्दा ठूलो संख्यामा दैनिक संक्रमण पुष्टि भएपछि गत शनिबार नेदरल्यान्ड्सले तीन साता लामो खुकुलो कोभिड लकडाउन लागू गरेको छ।रोटरड्याममा आपतकाल घोषणा गरी रेल स्टेसनहरू बन्द गरिएका छन्। – बीबीसीबाट