काठमाण्डौ । फेरि कोरोना संक्रमण बढ्न थालेपछि फ्रान्सको राजधानी पेरिससहित ९ सहरमा रात्रीकालीन कर्फ्यु आदेश जारी गरिएको छ।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले देशमा बढ्दै गएको कोरोना संक्रमणको मामिला नियन्त्रण गर्न पेरिससहित ९ सहरमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म घरबाट बाहिर ननिस्किन जनतालाई आग्रह गरेका छन्। उनका अनुसार आउँदो शनिबारबाट कर्फ्यु आदेश लागू हुने हुनेछ। 

यो कर्फ्यु कम्तीमा पनि ४ हप्ता लागू हुने राष्ट्रपति म्याक्रोनले जानकारी दिए। फ्रान्समा स्वास्थ्य आपतकाल पनि घोषणा गरिएको छ। 

हिजो बुधबार फ्रान्समा २२ हजार ९५१ नयाँ संक्रमणको मामिला देखिएका थिए। 

त्यसो त पूरै युरोपमा कोरोनाको दोस्रो लहरसँग लड्न सरकारहरुले नयाँ प्रतिबन्धहरु लागू गरेका छन्। 

नेदरल्यान्डसले स्थानीय समायानुसार रातको १० बजेदेखि आंशिक लकडाउन लागू गरेको छ। स्पेनको उत्तरपूर्वी क्षेत्र क्याटालोनियामा आज बिहीबारदेखि १५ दिनसम्म बार तथा रेस्टुराँ बन्द गर्न भनिएको छ। 

चेक गणराज्यमा स्कुलसँगै बारहरु बन्द गरिएका छन्। 

पछिल्लो दुई सातामा युरोपमा सबैभन्दा बढी कोरोना संक्रमणको मामिला देखिएका छन्। – एजेन्सी