काठमाण्डौ । संयुक्त अरब इमिरेट्सको Etisalat कम्पनीको मोबाइलबाट नेपाल टेलिकमद्वारा बितरित कुनै पनि टेलिफोन नम्बरमा प्रचलित दररेट भन्दा ५० प्रतिशत सस्तो दरमा कल गर्न सकिने व्यवस्था गरिएको छ । 

यो व्यवस्थासँगै अब Etisalat कम्पनीको मोबाइलबाट नेपाल टेलिकमद्वारा वितरित कुनै पनि टेलिफोन नम्बरमा कल गर्दा प्रतिमिनेट ३० फिल्स अर्थात करिब ८ रुपैयाँ ८० पैसा मात्र महसुल लाग्ने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएकी छिन् । 

उनका अनुसार सो अफर मार्च १ (फागुन १८, २०७२) देखि तीन महिनासम्म लागू हुनेछ । नेपाल टेलिकमको विशेष अनुरोधमा नेपाली ग्राहकलाई लक्षित गरी Etisalat कम्पनीले यो विशेष सहुलियत योजना लागू गरेको हो । यो छुट अफरबाट युएईमा कार्यरत नेपालीलगायत अन्य उपभोक्ताहरु पनि लाभान्वित हुने बताइएको छ । यो अफर नहुँदाको सामान्य दर भने प्रतिमिनेट ६० फिल्स अर्थात करिब १७ रुपैयाँ ६० पैसा रहेको थियो । नेपालबाट युएईमा कल गर्दा भने हाल प्रतिमिनेट १२ रुपैयाँ महसुल लाग्छ ।