काठमाण्डौ। नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीकी सहायक महासचिव तथा एशिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी वाग्नाराजासँग यूएनडीपीअन्तर्गत पर्यटन बोर्डले गरेका कार्यक्रमका बारेमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ। 

पर्यटन बोर्डमा बुधबार आयोजित कार्यक्रममा यूएनडीपीका सहायक महासचिव तथा एशिया प्रशान्त क्षेत्रीय निर्देशक वाग्नाराजाले पर्यटन बोर्डसँग यूएनडीपीको पुरानो सहकार्य रहेको उल्लेख गर्दै पछिल्लो समय यूएनडीपीसँग भएको सहकार्य र यसबाट भइरहेका कामको प्रशंसा गर्दै दिगो पर्यटन विकासमा जोड दिन आग्रह गरिन्। उनले पर्यटन आर्थिक विकासको महत्वपूर्ण क्षेत्र भएको चर्चा गर्दै बोर्डले गरेका पर्यटन मजदुरका लागि रोजगारी सिर्जना तथा पर्यटकीय गन्तव्य विस्तारजस्ता कार्यले दिगो पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरिन्। 

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा पर्यटन बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले यूएनडीपीजस्ता संस्थाको सहकार्यले नेपालको पर्यटन विकासमा सकारात्मक प्रभाव पारेको बताए। उनले सरकार पर्यटन बोर्ड दिगो पर्यटन प्रवर्द्धन गर्द आर्थिक विकास र रोजगारी सिर्जनामा ध्यान दिइरहेको जानकारी दिए। 

कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले नेपालमा पर्यटनको संस्थागत विकासमा यूएनडीपीको लामो सयमदेखि योगदान रहेको उल्लेख गर्दै आउँदा दिनमा पनि यूएनडीपीबाट निरन्तर सहयोग रहको अपेक्षा गरेको बताए। उनले पछिल्लो समय यूएनडीपीको सहयोगमा सञ्चालित जीविकोपार्जनका लागि पर्यटन पुरुत्थान कार्यक्रम (एसटीएरआरपी) बाट कोभिडबाट पर्यटन क्षेत्रमा परेको असर न्यूनीकरण गर्दै अल्पकालीन रोजगारी सिर्जना तथा पर्यटकीय गन्तवयको विकासमा सहयोग पुगेको जानकारी दिए। 

बोर्डका निर्देशक मणिराज लामिछानेले बोर्डले एसटीएलआरपी कार्यक्रमका माध्यमबाट करिब ६ हजार जनालाई अल्पकालीन रोजगारी दिन सकिएको जानकारी दिए। उनले यो कार्यक्रममा स्थानीय तह तथा पर्यटनसँग सम्बनिधत संस्थाहरुसँग सहकार्यमा गरिएको बताए।