काठमाण्डौ । ब्रिटेनमा कारोबारमा नगदको प्रयोग पछिल्ला केही वर्षमा गिरावट आइरहेको छ, तर पनि बैंक नोटको माग भने थामिनसक्नु गरी बढेको छ । धेरैलाई यो अनौठो अवस्थाले टाउको दुखाइरहेको छ । ब्रिटेनमा उच्च माग रहेको भनिएको बैंकको नोट कहाँ हराइरहेको छ भन्ने कुरा हालसम्म कसैले पनि भन्न सकेको छैन । यो विषय अहिले विश्वभर बहसको बिषय बनेको छ । 

शुक्रबार यूकेका केही सांसदहरुले भनेका छन् कि हाल ५० अर्ब पाउण्ड स्टर्लिङ डलर(करिब ६७.४ अर्ब अमेरिकी डलर) बराबरको नगद देशबाट हराइरहेको छ । उनीहरुले बैंक अफ इंग्ल्याण्डलाई यो विषयमा गम्भीर अनुसन्धान थाल्न समेत आह्वान गरेका छन् । 

सिएनएनका अनुसार हराइरहेको भनिएको पैसा कतै थन्क्याइएको आशंका छ, तर बैंक अफ इंग्ल्याण्डलाई पनि थाहा छैन कि यति ठूलो रकम कहाँ, कसले र कसका लागि लुकाएको छ भन्ने कुरा । 

ब्रिटेनको संसद अन्तर्गत गठित हाउस अफ कमन्स पब्लिक अकाउण्ट्स कमिटीकी संयोजक मेग हिलियरले भनेकी छिन्-'यो विषयमा बैंक उति जिज्ञासू समेत देखिएन । हराइरहेको ५० बिलियन डलर कहाँ छ भन्ने कुरा अब सबैको चासो हुनुपर्छ ।' 

तर, बैंक अफ इंग्ल्याण्डले सांसदहरुले उठाएको प्रश्न बेकार रहेको दाबी गरेको छ । 'जनताका प्रतिनिधिले बैंकले बैंक नोटहरु कहाँ र कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने कुरामा धेरै चिन्ता गरिरहन आवश्यक छैन ।' बैंकले जारी गरेको प्रेस नोटमा भनिएको छ-'यसको अर्थ हो बैंक नोटहरु हराएका छैनन् ।' 

केन्द्रीय बैंकका प्रवक्ताले आगामी दिनमा समेत सर्वसाधारणको नोटको सबै खालको माग सम्बोधन गर्न बैंक तत्पर र सक्षम रहेको समेत दाबी गरेका समाचारमा उल्लेख छ । 

यो देशमा डिजीटल पेमेन्टको गति पनि तीव्र रुपमा बढिरहेको छ । विश्वस्तरको मन्दी सुरु भएपछि विश्वकै एड्भान्स अर्थतन्त्र मानिएको यो देशको मुद्राको माग ह्वात्तै बढेको देखिन्छ । यहाँको केन्द्रीय बैंकले सन् २०१८ मै यो कुरा उल्लेख गर्दै एक स्टेटमेन्ट प्रकाशित गरेको थियो । न्यून ब्याजदर र घट्दो प्रतिफलका कारण पनि यस्तो भएको २०१८ को रिपोर्टमा उल्लेख छ । 

बैंक अफ इंग्ल्याण्डका चिफ क्यासिएर सराह जोनले पछिल्लो समय भण्डारणको उद्देश्यका लागि पैसाको प्रयोग भइरहेको बताएकी छन् र उनले भनेकी छन्-'यो कारोबारको सिद्धान्त विपरीत रहेको छ । सन् २००८ को मन्दीपछि वित्तीय संस्थाहरुको क्षमताको विषयमा उत्पन्न चिन्ताले समेत यसमा योगदान गरेको देखिन्छ ।' 

कोरोना भाइरसको संक्रमण बढ्न नदिन ब्रिटेनले गरेको लकडाउनको अवधिमा नोट तथा क्वाइन्सहरुको मागमा ह्वात्तै गिरावट आएको समेत देखिएको छ । किनभने यसअघि नै सर्वसाधारणले ठूलो परिमाणमा नगद आफ्नो घरमा भण्डारण गरिसकेका थिए । 

जुलाईमा ब्रिटेनको नोटको सर्कुलेसन हालसम्मकै सर्वाधिक उचाई ४.४ बिलियनमा पुगेको थियो । यही बेला क्यास पेमेन्टको गति भने केही घटेको देखिएको थियो, जुन महामारीको कारणले हो भन्ने देखिने समाचारमा उल्लेख छ । 

दशकअघि ब्रिटेनमा हुने १० कारोबारमा ६ वटा कारोबार क्यासमा आधारित हुन्थ्यो, तर गत वर्ष भने १० कारोबारमध्ये ३ भन्दा कम कारोबार मात्र नगदमा आधारित देखियो । 

बैंक अफ इंग्ल्याण्डको अनुमानमा २० देखि २४ प्रतिशतसम्म नगद कारोबारमा प्रयोग भइरहेको छ भने ५ प्रतिशत नगद यूकेका जनताले घरमै भण्डारण गरेर राखेका हुनसक्छन् ।

यूकेको नेशनल अडिट अफिस(एनएओ)ले यी तमाम तथ्यांकका बाबजुद केन्द्रीय बैंकले पछिल्लो समय नगदको प्रयोगमा आएको बढोत्तरी र ५० बिलियन डलर कसले होल्ड गरेर राखेको छ भन्ने विषयमा गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन दिएको छ । उनले यति गम्भीर विषयमा टालटुले जवाफ दिएर मात्र नपुग्ने प्रष्ट पारेको छ । यसले समेत ५० बिलियन डलर साच्चिकै हराएको पुष्टि हुने समाचारमा उल्लेख छ । 

'यो कामले करी छलीजस्ता कतिपय छलछामको विषयमा कडा पोलिसी बनाउने विषयमा सरोकारवाला सबैलाई सहयोग गर्नेछ ।'-एनएओले एक विज्ञप्ति जारी गर्दै भनेको छ । 

-सिएनएनको सहयोगमा