काठमाण्डौ । नेपालको बैंकिङ क्षेत्रका एक भेटेरान बैंकर तथा स्पष्टवक्ता अजयकुमार मिश्रले अवकाशको घोषणा गरेका छन् । 

पछिल्लो समय यूनाइटेड फाइनान्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत बैंकर मिश्रले नेपालको बैंकिङ क्षेत्रबाटै अवकाश लिएको घोषणा गरेका हुन् । 

देशकै सबैभन्दा ठूलो र सवल वित्तीय संस्थाको रुपमा रहेको नवील बैंकसँग यूनाइटेड फाइनान्स बिलय हुन लागेको छ । नवील र यूनाइटेड फाइनान्सले शनिवार जारी प्राप्ति प्रक्रिया टुंग्याउने उद्देश्यले विशेष साधारणसभा आह्वान गरेका थिए । दुवैको साधारणसभाले गाभ्ने गाभिने सम्बन्धी अजेण्डा पारित गरेसँगै यूनाइटेड फाइनान्स औपचारिक रुपमै नवीलमा बिलय हुने अवस्थामा पुगेको हो । विशेष साधारणसभाबाट नवीलसँग बिलय हुने अजेण्डा पारित भएको जानकारी दिंदै यूनाइटेड फाइनान्सका सीइओ मिश्रले आफूले बैंकिङ क्षेत्रबाटै अवकाश लिएको घोषणा गरेका हुन् । 

'सीइओको रुपमा म ६ वटा मर्जर र एक्वीजिसन प्रक्रियामा सहभागी भएँ र यो नै मेरा लागि अन्तिम हो भन्ने मलाई विश्वास छ।' उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्-'योसँगै मैले बैंकिङ उद्योगबाटै अवकाश लिने निर्णय गरेको छु ।' 

उनले आफ्नो करिअरको चौधौं इनिङ निकै भिन्न क्षेत्रबाट सुरु गर्न लागेको समेत जानकारी दिएका छन् । त्यो क्षेत्र के हो उनले खुलाएनन्। 

आफूले विभिन्न क्षेत्रको करिअरमा ३२ वर्ष बिताएको र त्यसमध्ये आधा अर्थात १६ वर्ष बैंकिङ क्षेत्रमै व्यतित गरेको समेत उनले सो क्रममा जानकारी दिएका छन् । 

६ सफल मर्जरको नेतृत्व
मिश्र नेपालका थोरै बैंकरमध्येमा पर्छन्, जो ६ वटा मर्जर वा एक्वीजिसन प्रक्रियामा सहभागी भएका छन् । यो हिसाबले उनलाई मर्जर वा एक्वीजिसन प्रक्रियाको विज्ञकै रुपमा समेत लिन सकिन्छ । किनभने मिश्र सहभागी ६ वटै मर्जर प्रक्रिया कुनै असफल भएनन् । 

पहिलोपटक उनको नेतृत्वमा गोर्खा फाइनान्सलाई प्रूडेन्सियल फाइनान्समा मर्जर गराउने काम भएको थियो । 

त्यसपछि उनकै नेतृत्वमा प्रूडेन्सियल फाइनान्सलाई एनएमबी बैंकमा, एकता विकास बैंकलाई सिद्धार्थ डेभलपमेन्ट बैंकमा, नेपालकै पहिलो फाइनान्स कम्पनी नेपाल आवासलाई सिद्धार्थ डेभलपमेन्ट बैंकमा र सिद्धार्थ डेभलपेमन्ट बैंकलाई जनता बैंकमा सफल मर्जर गराउने काम भयो । 

जनता बैंकमा डेपुटी सीइओको रुपमा १४ महिना काम गरेका उनले राजीनामा गरी यूनाइटेड फाइनान्सको सीइओको रुपमा काम थालेका थिए । यूनाइटेड फाइनान्सलाई समेत उनकै सक्रियतामा नवीलमा मर्ज गराउने प्रक्रिया सुरु गरिएको थियो । 

बैंकिङमा आउनुअघि मिश्रले नेपाल सरकार, यूएनडिपी, प्लान इन्टरनेशनल, नेपाल टेलिभिजन लगायतमा काम गरेका थिए । यी संस्थाहरुमा उनको नन्बैंकिङ करिअरको १६ वर्ष व्यतीत भएको थियो। 

बैंकिङ उद्योगबाट अवकाशको घोषणा गरेका मिश्रसँग हामीले नेपालमा मर्जर वा एक्वीजिसनका चुनौतिको विषयमा सोधेका थियौं । उनले भनेका छन्-'मर्जर वा एक्वीजिसनको सबैभन्दा ठूलो चुनौति कर्मचारी समायोजन हो । मर्जरको जटिल समस्याको रुपमा रहेको कर्मचारी समायोजन जस्तो महत्वपूर्ण काम हाम्रोमा अझै परम्परागत ढंगले चलिरहेको छ ।' 

उनले बैंकिङ क्षेत्रबाट जाँदा जाँदै दुई वा सोभन्दा बढी संस्था मर्जरमा जाँदा देखिने कर्मचारी समायोजनको कामलाई न्यायपूर्ण ढंगले टुङ्ग्याउनका लागि व्यवसायिक विज्ञहरुलाई जिम्मा लगाउने चलनको सुरुवात गर्नुपर्नेमा जोड दिएका छन् । 'मर्जर वा एक्वीजिसनको लिड गर्ने बैंकलाई यो विषय दिंदा समस्याको सही समाधान ननिस्किने रहेछ ।' उनले थपे-'दुई वा सोभन्दा बढी संस्थाका कर्मचारीहरुको कल्चर मिलान, क्षमता विकास लगायतका विषयलाई सही ढंगले समाधान गर्न अब बैंकहरुले बैंकिङभन्दा बाहिर रहेका एक्सपर्टहरुलाई हायर गर्नुपर्छ ।' 

नेपालमा मर्जर र एक्वीजिसनका लागि बल्ल लहर चलेकोले कर्मचारी समायोजनजस्ता विषयलाई सही ढंगले टुङ्ग्याउनका लागि भविष्यमा अन्य संस्थालाई सहयोग गर्न आफूले समेत विज्ञको रुपमा काम गर्नसक्ने उनको संकेत थियो । 

नेपाली बैंकिङको चुनौति
बैंकिङ करिअरको अधिकांश समय नेतृत्वदायी भूमिकामा रहेर काम गरेका मिश्रले यो अवधिमा एक कुशल विश्लेषकको पनि पहिचान बनाए । उनले बैंकिङ क्षेत्रको समस्या र समाधानका लागि विगतमा दिने गरेका धारणा निकै सटिक हुने गरेको थियो । बैंकिङ क्षेत्रबाट अवकाशको घोषणा गरेपछि हामीले उनलाई नेपालको बैंकिङ क्षेत्रको चुनौतिको विषयमा समेत जिज्ञासा राख्यौं । 

उनले समष्टीगत बैंकिङको कुरा गर्दा नेपालका बैंक तथा वित्तीय संस्था सर्टटर्म प्लानिङबाट चलेका र यसले जुनसुकै बेला जोखिम आउनसक्ने बताए । 'जस्तो बैंकहरुले विजिनेश प्लान गर्दा एक क्वार्टर, ६ महिना वा बढीमा एक वर्षका लागि मात्र गर्ने गर्छन्, यो गलत छ ।' उनले भने-'लङटर्म प्लानबाट अझै गाइड भएका छैनन् । यसले जोखिम निम्त्याउन सक्छ ।' 

मिश्रको नजरमा नेपालको बैंकिङ क्षेत्र जोखिममा पर्नसक्ने २ वटा फ्याक्टर छन् । पहिलो फ्याक्टर बैंक तथा वित्तीय संस्थाहरुको सर्ट टर्ममा फोकस हुने प्रवृति हो भने अर्को फ्याक्टर कोरोनापछि रिल्याक्ससेसन दिन बैंकहरुलाई बाध्य पारिएको अवस्था । 

'एसेट र लायवलिटिजबीचको अवधिमा मिसम्याच ठूलो समस्या हो । लोन दिंदा ४० वर्षसम्मको दिने, तर निक्षेप लिँदा बढीमा ३ वर्षको पनि नलिने समस्याले भविष्यमा जुनसुकै बेला जोखिम निम्त्याइदिनसक्छ ।' उनले भने-'कोभिडपछिको जोखिम न्यूनिकरणका लागि सरकार र राष्ट्रबैंकले आफ्ना दायीत्व समेत बैंक तथा वित्तीय संस्थाको टाउकोमा थोपरिदिए । यसले समेत थप समस्या बनाइदिएको छ ।' 

कति हुनुपर्छ बैंकको संख्या ?
मिश्रको धारणामा नेपालमा वाणिज्य बैंकहरुबीच बिग मर्जरको लहर ल्याउन ढिला भइसकेको छ । 'ठूला बैंकहरुलाई मर्जरमा लगी वाणिज्य बैंकको संख्या १२ देखि १५ मा सीमित गर्नुपर्छ ।' मिश्रले भने-'५ वटा जति विकास बैंक र ५ देखि ७ वटा जति बित्त कम्पनी पनि मुलुकलाई चाहिन्छ ।'

उनले पछिल्लो समय माइक्रोफाइनान्सहरुमा विकृतिको चाङ रहेको दाबी गर्दै यसमा समेत कडा नियमनको आवश्यकता औंल्याए । 'माइक्रोफाइनान्सलाई समेत जोखिमरहित बनाउन मर्जर आवश्यक छ, साइज ठूलो बनाउनुपर्छ ।' उनले भने-'माइक्रोफाइनान्सहरु धेरै नै छाडा भए, यसलाई तत्काल नियन्त्रण गर्न जरुरी छ ।' 

अझै परम्परावादी बैंकिङ
मिश्रले नेपालमा अझै पनि ट्रेडिसनल बैंकिङ नै फस्टाइरहेकोमा असन्तोष व्यक्त गरे । 'हामी अझै पनि धितोमा आधारित फण्डिङमै केन्द्रीत छौं । प्रोजेक्ट बेस्ड फण्डिङ नै छैन ।' उनले भने-'हाम्रो समाज अझै पनि नगदमा आधारित अर्थतन्त्रमै विश्वास गर्छ । विश्वको तुलनामा डिजीटल बैंकिङमा हामी धेरै पछाडि छौं ।' 

बैंकिङ गतिविधि पनि धेरै नै पुरातन भएको उनको ठम्याई छ । 'हामीसँग स्कोप धेरै छ ।' उनले थपे-'तर अझै पनि हामी डिपोजिट लिने र लोन दिने पुरातन बैंकिङमै रमाइरहेका छौं ।'