काठमाण्डौ । एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) लाई इन्टिग्रेट गरी भारत र नेपालबीचको अन्तरदेशीय डिजिटल भुक्तानीलाई सहज बनाउन एमओयू भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नयाँदिल्लीको हैदराबाद हाउसमा एनआईपीएलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानबीच उक्त एमओयू आदानप्रदान भएको हो।  

आमनागरिक, विद्यार्थी, तीर्थयात्री र यात्रु (पर्यटक)द्वारा गरिने फन्ड ट्रान्सफर एवं भुक्तानीलाई सहज बनाउँदै दुई देशबीच हुने क्रसबोर्डर आर्थिक कारोबाराई थप सहज गर्नु उक्त सम्झौताको प्रमुख उद्देश्य रहेको छ। जसअनुसार प्रारम्भिक चरणमा भारत र नेपालका बैंकहरुबीच इनवार्ड र आउटवार्ड ट्रान्सफरका लागि आवश्यक व्यवस्था मिलाउन भारतको यूपीआई र नेपालको एनपीआईबीच इन्ट्रिग्रेसन गरी हाल उपलब्ध भुक्तानी प्रणाली र विभिन्न च्यानललाई सबलीकरण गरिनेछ। त्यसपछि क्रमशः मर्चेन्ट पेमेन्टलगायतका अन्य भुक्तानीलाई समेत कार्यान्वयनमा ल्याइने छ। 

दुई देशबीचको रियल टाइम भुक्तानी प्रणालीलाई जोडी क्रसबोर्डर भुक्तानी लागू हुने हुँदा यस इन्ट्रिग्रेसनलाई यस क्षेत्रको महत्वपूर्ण कोशेढुंगाका रुपमा लिइएको छ। 

यूपीआई विश्वको सबैभन्दा इनोभेटिभ र एडभान्स भुक्तानी पूर्वाधारमध्ये एक हो। यस इन्ट्रिग्रेसनले नेपालको भुक्तानी प्रणालीमा समेत थप सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उक्त एमओयूका आधारमा एनसीएचएल र एनआईपीएलले प्राविधिक इन्टिग्रेसन, कानुनी तथा अनुपालनसम्बन्धी व्यवस्था र व्यावसायिक पक्षसमेतलाई अन्तिम रुप दिई क्रसबोर्डर भुक्तानीका विभिन्न कारोबारलाई क्रमिक रुपमा लागू गर्दै लग्नेछन्। यसका साथै कारोबारको प्रकार र आवश्यकतानुसार कारोबारको सीमा, शुल्क तथा अन्य जोखिम नियन्त्रणको व्यवस्था केन्द्रीय बैंकको आवश्यक सहमति तथा स्वीकृति अनुसार लागू गरिनेछ।

एनआईपीएल, नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) को पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो। यसले नवीनतम प्रविधिको प्रयोग गरी भारतमा भुक्तानी कारोबारलाई रुपान्तरण गर्दै आएको छ। 

भारतीय रिजर्भ बैंक (आरबीआई) र भारतीय बैंक संघ (आईबीए) को पहलमा स्थापना भएको एनपीसीआई भारतमा रिटेल भुक्तानी र सेटलमेन्ट प्रणालीहरु सञ्चालन गर्ने छाता संगठन हो। यसले भारतमा सबल डिजिटल भुक्तानी र सेटलमेन्ट पूर्वाधार सिर्जना गर्न कार्य गर्दै आइरहेको छ। 

त्यसैगरी एनसीएचएल मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको नेतृत्वमा नेपालका सबै बैंक तथा वित्तीय संस्थाहरुको सहभागितामा स्थापना भएको कम्पनी हो। राष्ट्रियस्तरको भुक्तानी तथा राफसाफको प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै आएको यो कम्पनीले हाल नेसनल पेमेन्ट स्विचअन्तर्गत रिटेल पेमेन्ट स्विच (आरपीएस) सञ्चालन गरी विभिन्न च्यानल प्लेटफर्ममार्फत सेवा प्रदान गर्दै आएको छ। 

यसका साथै एनपीएसअन्तर्गत डोमेस्टिक कार्ड स्किम पनि कार्यान्वयनका क्रममा रहेको छ।