काठमाण्डौ । अमेरिकाले आर्थिक वर्ष २०२२ लाई तोकिएको ६५ हजार एच–१बी भिसाका लागि पर्याप्त आवेदन परेको जनाएको छ। 

एच–१बी भिसा गैरआप्रवासी भिसा हो। जसले अमेरिकी कम्पनीहरुलाई प्रविधिमा विशेषज्ञता हासिल गर्ने विशेष कार्यहरुका लागि विदेशी कामदार ल्याउन अनुमति दिन्छ। 

टेक्नोलोजी कम्पनीहरुले विभिन्न देशबाट प्रत्येक वर्ष हजारौँ कामदार ल्याउन यो भिसामा भर पर्छन्। यो भिसाको माग सर्वाधिक रहेको छ। 

अमेरिकी संसदको आदेशअनुसार अमेरिकाले प्रत्येक वर्ष अधिकतम ६५ हजार एच–१बी भिसा जारी गर्न सक्छ। त्यस्तै थप २० हजार एच–१बी भिसा अमेरिकी उन्नत डिग्री छुट श्रेणीहरुअन्तर्गत जारी गर्न सक्छ।

भिसासम्बन्धी सबै आवेदनहरु हरेक वर्ष छनोट गर्ने यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिस (यूएससीआईसी)ले सोमबार यो वर्षका लागि निर्धारित एच–१बी भिसा नियमित सीमा ६५ हजार र थप २० हजार एच–१बी भिसा अमेरिकी उन्नत डिग्री छुट श्रेणीहरुका लागि पर्याप्त आवेदन परिसकेको जनाएको छ। दर्ता भएका र छनोट नभएका आवेदकलाई अनलाइनमार्फत यसबारे जानकारी गराइएको यूएससीआईसीले स्पष्ट पारेको छ। –एजेन्सी