काठमाण्डौ । सुनको भाउ यो साता कारोबारको अन्तिम दिन शुक्रबार तोलामा २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तेलनामा तोलामा २०० रुपैयाँले बढेर सुनको भाउ प्रतितोला छापावाल ७५ हजार २०० रुपैयाँ र तेजाबी सुन ७४ हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो बिहीबार सुनको प्रतितोला छापावाल ७५ हजार रुपैयाँ र तेजाबी ७४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

नेपाली बजारमा हिजो बिहीबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो । कारोबारको चौथो दिन बुधबार सुन प्रतितोला छापावाल ७४ हजार ८०० रुपैयाँ र तेजाबी ७४ हजार ५०० रुपैयाँ थियो । बुधबार सुनको भाउमा एकैपटक तोलामा ५०० रुपैयाँको गिरावट आएको थियो ।

गत मंगलबार भने तोलमा ३०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन ७५ हजार ३०० रुपैयाँ र तेजाबी ७५ हजार रुपैयाँ कायम भएको थियो । कारोबारको पहिलो र दोस्रो दिन आइतबार तथा सोमबार सुनको भाउ प्रतितोला छापावाल ७५ हजार रुपैयाँ र तेजाबी ७४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

समग्रमा यो साता सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको महासंघले जनाएको छ ।

चाँदीको भाउ भने कारोबारको अन्तिम दिन शुक्रबार स्थिर रहँदै प्रतितोला ८८५ रुपैयाँ नै कायम रह्यो । समग्रमा यो साता चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेको छ । यो साता कारोबारको पहिलो दिन आइतबार चाँदीको भाउ प्रतितोला ८९० रुपैयाँ थियो ।