काठमाण्डौ । सेयर बजार र लगानीकर्ताका लागि बहुप्रतिक्षित मौद्रिक नीति यो साता पनि नआउने देखिएको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको नयाँ सरकारले पूरक बजेट ल्याउने तयारी गरेसँगै मौद्रिक नीति सार्वजनिक हुने समय केही पर धकेलिएको हो । 

अघिल्लो साता अर्थमन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेटपछि मात्रै मौद्रिक नीति आउने बताएका थिए । उनको यो भनाईसँगै असार ३ गतेभित्र मौद्रिक नीति सार्वजनिक गर्न तम्सिएको राष्ट्रबैंक होल्ड भएको थियो । 

पछिल्लो समय राष्ट्रबैंकले मौद्रिक नीति तयार गर्ने काम सके पनि अर्थमन्त्रीको निर्देशन र पूरक बजेटको प्रतिक्षाले समय केही लम्बिने देखिएको छ । 
अर्थमन्त्रालयस्थित एक उच्च स्रोतका अनुसार आज बस्ने मन्त्रीपरिषद बैठकले पूरक बजेटको विषयमा निर्णय गर्नसक्ने संभावना छ । यो निर्णयपछि बजेट कहिले प्रस्तुत हुन्छ भन्ने मोटामोटी थाहा हुने र त्यसपछि मात्र मौद्रिक नीति आउने अर्थ स्रोतले प्रष्ट पारेको छ । 

‘पूरक बजेट नआई मौद्रिक नीति आउँदैन ।’ अर्थका एक अधिकारीले भने–‘पूरक बजेट यो साता नै आउने संभावना देखिन्न । तसर्थ, मौद्रिक नीति पनि तत्काल आउँदैन ।’

नेपाल राष्ट्रबैंकले हरेक वर्ष प्रस्तुत गर्ने मौद्रिक नीति सरकारको वार्षिक बजेट तथा नीति र कार्यक्रममा आधारित हुन्छ । केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा आधारित रहेर मौद्रिक नीतिको लेखनको काम थालिएको थियो । तर, राजनीतिमा एकाएक आएको नयाँ ट्वीस्टका कारण ओली सरकार ढल्यो र देउवा प्रधानमन्त्री भए । देउवाले हिजो मात्र प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि सरकारले पूरक बजेट ल्याउने तयारी गरेको हो । राष्ट्रबैंक पनि पूरक बजेटलाई हेरेर त्यसकै आधारमा मौद्रिक नीति बनाउने प्रतिक्षामा बसेको बुझिएको छ ।