काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले विगत बैंकविरुद्ध केही समयदेखि रकम हिनामिनाका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

बैंकले आज एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको भएको जनाएको हो। ‘बैंकले सञ्चालन गरेको रेमिट्यान्सको पार्किङ अकाउन्टबाट रकम अपचलन भएको विषयमा सम्बन्धित निकायमा कानुनबमोजिम उजुरी गरी हाल अनुसन्धानका क्रममा रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘कानुनबमोजिम अनुसन्धानमा रहेको विषयप्रति थप टिकाटिप्पणी गर्न कानुनतः नमिल्ने हुन्छ। अनुसन्धानबाट दोषी देखिएका व्यक्तिहरुमाथि कानुनबमोजिम कारबाही हुने कुरामा अन्यथा छैन।’

बैंकको रेमिट्यान्सको पार्किङ अकाउन्टबाट रकम हिनामिना वा अपचलन गरेको कार्यबाट अनुसन्धानबाट देखिने अपचलित रकम असुलउपर हुने नै हुँदा हालको सन्दर्भमा बैंकको निक्षेप, सेयरधनीको लगानी तथा अन्य कारोबारमा फरक नपर्ने बैंकले स्पष्ट पारेको छ। ‘प्रदेश नं. १ मा स्थापित एउटा विश्वसनीय बैंकका रुपमा रहेको सप्तकोशी डेभलपमेन्ट बैंक र बैंकका कर्मचारीहरुप्रति वितृष्णा, भ्रम फैलाई सम्पूर्ण निक्षेपकर्ता, कर्जा ग्राहक, सेयरधनी र अन्य सरोकारावाला सबैलाई नकारात्मक प्रभाव पार्ने उद्देश्यले भएका केही क्रियाकलाप र सोबाट सिर्जित समाचारहरुबाट अभिप्रेरित हुने अवस्था छैन’, विज्ञप्तिमा भनिएको छ।