काठमाण्डौ । सेयर बजारमा तीव्र र दैनिकजसो गिरावट आइरहेको बेला एकथरि लगानीकर्ताहरुले आन्दोलन तताइरहेका छन् । 

लगानीकर्ताकै अर्को एक झुण्ड भने प्रधानमन्त्रीदेखि गभर्नरसम्मलाई भेट्दै ज्ञापनपत्र बुझाइरहेको छ । 

लगानीकर्ताले जे जसरी पूँजीबजारका समस्या समाधानका लागि पहल गरे पनि त्यो सह्रानीय नै मानिन्छ । 

यहीबेला सेयर बजारका जानकार रविन्द्र भट्टराईले भने सामाजिक सञ्जालमार्फत सेयर बजारमा किन हुन्नन् यी काम भन्दै १० वटा हुन नसकेका वा गरिनुपर्ने कामहरु सार्वजनिक गरेका छन् । भाग १ भन्दै सार्वजनिक १० बुँदामध्ये कतिपय नौला र राम्रा पनि छन् । हेरौं उनले के लेखेका छन् ती १० बुँदामाः

१.दोस्रो बजारमा कम्पनीका सञ्चालक, संस्थापक तथा आधारभूत सेयरधनीको सेयर कारोबारलाई बढीभन्दा बढी पारदर्शी बनाई बजारमा पारदर्शिता कायम गर्ने ।
२.सेयर ब्रोकरकहाँ कारोबार खाता खोल्दा जस्तो कुनै कम्पनीमा संस्थापक रहेमा, सञ्चालक रहेमा, आधारभूत सेयरधनी भएमा त्यस्ता विवरण अनिवार्य खुलाउनुपर्ने र कारोबार गर्दा आफ्नो कारोबार खातामा अध्यावधिक गर्नुपर्ने व्यवस्था गर्ने ।
३.इन्ट्रा डे कारोबारलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउने र आज बेचेको सेयरको पैसाले तत्कालै पुनः सोही कम्पनीको वा चाहेको अन्य जुनसुकै कम्पनीको सेयर किन्नसक्ने बनाउने । तर आज बेचेको सेयरको पैसा भने हिसावकिताब राफसाफ भएपछि मात्र खाताबाट झिक्न पाउने व्यवस्था गर्ने ।
४.लगानीकर्ता आफैं वा ब्रोकर जोसुकै माध्यमबाट कारोबार भए पनि दोस्रो बाजारमा कारोबार भइसकेपछि तत्काल त्यसको जानकारी एसएमएस, इमेल वा दुबैमार्फत् लगानीकर्तालाई जानकारी दिने व्यवस्था गर्न लगाउने ।
५.सेयर बजारमा सानोभन्दा सानो पुँजीलाई आकर्षित गर्न तथा थोरै पुँजी वा पैसा हुनेले पनि चाहेका कम्पनीको सेयर किनेर पोर्टफोलियो बनाउन एक कित्ताभन्दा पनि कम (फ्र्याक्सनमा)सेयर किन्न पाउने व्यवस्था गर्ने ।
६.कम्पनीले बाँडेको नगद लाभांशबाट पुनः सोही कम्पनीको सेयर खरिद गर्न लगानीकर्तालाई प्रोत्साहन गर्न लाभांश पुनः लगानी (डेभिडेन्ड रि–इनभेष्टमेन्ट प्लान) शुरुवात गर्न कानूनी व्यवस्था गर्ने ।
७.कर्मचारीले आफूले पाएको तलबको निश्चित प्रतिशत रकमबाट हरेक महिना सोही कम्पनीको सेयर कम्पनीमार्फत् किन्न पाउने गरी कर्मचारी सेयर खरिद योजना (इम्प्लोई सेयर पर्चेज प्लान) सम्बन्धी नियम बनाउने ।
८.संस्थापक र सर्वसाधारण सेयरको मूल्यमा गरिएको अन्यायपूर्ण व्यवहारलाई अन्त्य गर्ने र मूल्यमा एकरुपता कायम गर्ने । यसले एउटै कम्पनीको सेयरको दुई फरक मूल्यको अवस्थालाई अन्त्य गर्नेछ ।
९.सानो पुँजीलाई बजारमा आकर्षित गर्न एक कित्ता कारोबार वा फ्र्याक्सनमा हुने सेयर कारोबारमा लाग्ने नामसारी शुल्क हटाउने तथा ब्रोकर कमिसन घटाउने ।
१०.दोस्रो बजारमा दिइने कारोबार विवरणमा नेप्सेले संस्थापक र सर्वसाधारण सेयर कारोबारको विवरण उसको वेबसाइटमार्फत् अनिवार्य दिनुपर्ने व्यवस्था गराउने । यस्तै नगद कारोबार, मार्जिन कारोबार र कुल कारोबारको अलग–अलग विवरण वेबपेजमा राख्नुपर्ने ।