काठमाण्डौ । भारतीय सेयर बजारका बिग बुल भनेर चिनिने दिग्गज लगानीकर्ता राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा निधन भएको छ। उनले मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास लिए। उनी २–३ साताअघि अस्पतालबाट डिस्चार्ज भएका थिए। 
सेयर बजारमा लगानी गरेका झुनझुनवालाले मात्र ५ हजार रुपैयाँबाट हजार करोडको सम्पत्ति बनाएका थिए।

सन् १९८५ मा राखेका थिए दलाल स्ट्रिटमा कदम

राकेश झुनझुनवालाको यो सफलताको कथा मात्र ५ हजार रुपैयाँबाट सुरु भएको थियो। आज उनको कुल सम्पत्ति ४० हजार करोडको हाराहारीमा छ। 

सन् १९८५ मा मुम्बईको दलाल स्ट्रिटमा प्रवेश गरेका राकेश झुनझुनवाला आफ्ना बुवाबाट प्रेरणा लिएर यो व्यवसायमा आएका थिए। तर, जब उनले सेयर बजारमा पैसा लगानी गर्ने मन बनाए तब बुवाले पैसा दिन मानेनन्। यसका साथमा उनका बुवाले यसका लागि आफ्ना साथीभाइसँग पनि पैसा लिने प्रयास नगर्न सुझाव दिए। उनका बुवाले झुन्झुनवालालाई भने कि यदि सेयर बजारमा प्रवेश गर्न चाहना छ भने आफ्नै मेहनतले पैसा कमाउन सल्लाह दिए। 

टाटाको सेयरबाट मनग्य आम्दानी

पेसाले चार्टर्ड अकाउन्टेन्ट (सीए) राकेश झुनझुनवालाले सन् १९८५ मा ५ हजार रुपैयाँ लगानी गरेर लगानीकर्ताका रुपमा करिअर सुरु गरेका थिए। एकपटक उनले टाटा ग्रुपको कम्पनी टाटा टीको ५ हजार सेयर ४३ रुपैयाँमा किनेका थिए।

तीन महिनामा टाटा चियाको स्टक निकै बढ्यो। त्यसपछि झुनझुनवालाले यो सेयर १४३ रुपैयाँमा बेचे। यो १९८६ को कुरा हो र यो निर्णयले झुनझुनवालाले ३ महिनामा २.१६ लाख रुपैयाँको लगानीमा ५ लाख रुपैयाँ नाफा आर्जन गरे। 

यसरी बने भारतीय सेयर बजारका ‘बिग बुल’ 

त्यसपछिको ३ वर्षमा राकेश झुनझुनवाला सेयरमा पैसा लगानी गरेर करोडपतिको सूचीमा आए। यो ३ वर्षमा उनले करिब एक करोड रुपैयाँ नाफा कमाए। त्यसपछि उनले टाटा समूहको अर्को कम्पनीको सेयरमा लगानी लगाए। यही कम्पनीको सेयरबाट राकेश झुनझुनवालाले भारतीय सेयर बजारमा ‘बिग बुल’ उपाधि पाए। 

झुनझुनवालाले सन् २००३ मा टाटा समूहको कम्पनी टाइटनमा पैसा लगानी गरेका थिए। त्यतिबेला उनले टाइटनको ६ करोड सेयर ३ रुपैयाँमा किनेका थिए। कुनै समय झुन्झुनवालासँग टाइटनको करिब ४.५ करोड सेयर थियो, जसको मूल्य ७ हजार करोडभन्दा बढी थियो।

हालै राकेश झुनझुनवाला उड्डयन क्षेत्रमा प्रवेश गरेका थिए। उनले करिब ५ करोड डलरको ठूलो लगानीमा आकाशा नामक आफ्नो एयरलाइन सुरु गरेका थिए। –एजेन्सी