काठमाण्डौ । चिटिक्क परेको लुक्स । सफाचट गाडीमा जब चढ्नुहुन्छ, अत्याधुनिक प्रविधिले सुसज्जित भएका कारण दिल्लीको मेट्रो रेल वा यूरोपको कुनै शानदार सार्वजनिक यातायातमा चढेको तपाईँलाई सम्झना आउनसक्छ । दिल्ली नपुगेका र यूरोपको अनुभव नभएकाहरु त गाडीभित्रको सुविधा, लुक्स र प्रविधि देख्दा त्यसै मक्ख पर्ने नै भए । महिला सहचालकको उपस्थिति र न्यानो स्वागतले कतिपयलाई जहाजको यात्रा गरेको समेत भान पर्नसक्छ । हो, राजधानीको अस्तव्यस्त सार्वजनिक यातायातको परिभाषा बदल्ने र सुुविधायुक्त यातायातको नयाँ युग सुरु गर्ने उद्घोषसहित आइतबारदेखि राजधानीका सडकमा सुविधासम्पन्न, आधुनिक, सेवासुविधाले भरिपूर्ण र प्रविधिले सुसज्जित  ३९ वटा आकर्षक बस संचालनमा आएका छन् । 

महानगर यातायात प्रा.लि.ले राजधानीको सार्वजनिक यातायातमा उच्च सुविधायुक्त बस सेवा सुरु गरेको हो । ३२ सिट क्षमताका एकै रंगका बसले चक्रपथ परिक्रमा गरी सर्वसाधारण यात्रुलाई स्तरीय सेवा दिन थालेका हुन् । 

आइतबार राजधानीको वनस्थलीमा एक भव्य समारोहमाझ उद्योगमन्त्री सोमप्रसाद पाण्डे र चर्चित हास्यजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा अत्याधुनिक बस सेवाको शुभारम्भ गरेका थिए । 

महानगर यातायात प्रालिका अधिकारीका अनुसार ३९ वटा बसका लागि ६० जना चालक र सोही संख्यामा सहचालकको समेत व्यवस्था गरिएको छ । सहचालकमध्ये २५ जना महिला सहचालकहरु रहेका छन् । बसका सबै स्टाफका लागि एकै खालको पोशाक अनिवार्य गरिएको छ । 

बसमा निःशुल्क वाइफाइ, आधुनिक एलइडी टिभी, बसभित्र यात्रु र तिनका गतिविधिलाई नियाल्न सीसी टिभी समेत जडान गरिएको छ । बसभित्रै यात्रुहरुले स्क्रीन र अडियोबाट कुन स्टेशन आइपुगियो, अब अघिल्लो स्टेशन कुन हो यस्ता बिषयमा हरदम जानकारी पाउनेछन् । यो सुविधाले राजधानीका नव आगन्तुकलाई यहाँको सार्वजनिक यातायातको सेवा लिन अझ सहज हुने संचालकहरुको दाबी छ । 

एप्सबाट जानकारी
महानगर यातायात प्रालिले यातायात नामको मोवाइल एप्लीकेसनको समेत विकास गरेको छ । यो एप्सले आफूले चढ्न चाहेको बस कहाँ आउँदैछ, त्यसमा कति यात्रु छन्, कति सिट खालि छ वा छैन जस्ता पल पलको जानकारी यात्रुहरुलाई दिनेछ । यो एप्लीकेसन एन्डोइड र आइओएस दुवै भर्जनमा उपलब्ध हुने संचालकहरुले बताएका छन् । 

महानगर यातायात प्रालिका अध्यक्ष मधुसुदन उपाध्याय अधिकारीले आइतबार परीक्षणका लागि १० वटा बसलाई चक्रपथ परिक्रमाका लागि पठाइएको र यात्रुहरुबाट उत्साहजनक साथ पाइएपछि ३९ वटै बसले सोमबारदेखि यात्रुलाई सुविधा उपलब्ध गराउनेछन् । यी सबै बस सिप्रदी ट्रेडिङले उपलब्ध गराएको हो र प्रत्येक बसको खरीद मूल्य ३७ लाख रुपैयाँ रहेको पनि उनले जानकारी दिए । 

आइतबार एकदिनका लागि महानगर यातायातको बसमा चढेको प्रति यात्रुका लागि १ रुपैयाँ मात्र भाडा लिइएको थियो । तर सोमबारदेखि भने अन्य सार्वजनिक यातायातले लिने जति नै  भाडा दिनुपर्ने अध्यक्षले जानकारी दिए । 

१६ करोड बढी लगानीमा सुरु भएको सेवा सफल भए आगामी दिनमा थप बसहरु संचालन गरिने योजना समेत रहेको अधिकारीले बताएका छन् ।