– धर्म मलासी

काठमाण्डौ । नेपालीको महान् चाड बडादसैँको आगमनसँगै उपत्यकाका बजारहरुमा किनमेल गर्नेको घुइँचो बढ्न थालेको छ ।

दसैँलाई आवश्यक पर्ने खाद्यान्नदेखि लिएर भाँडाकुँडा, लत्ताकपडा आदि सामग्री किन्नेहरुले अहिले बजार छपक्कै छोपेको छ । यसैगरी व्यापारीहरुले पनि चाडपर्वको मौकामा ग्राहक तान्न विभिन्न किसिमका अफरदेखि मूल्यमा भारी छुटको व्यवस्था गरेका छन् । यस किसिमका अफर र छुटले विशेषगरी निम्न र मध्य आय भएका ग्राहक बढी लाभान्वित भएका छन् ।

यस्ता छुट र उपहार योजना फेन्सी पसल, जुत्ता पसल, होम अपलाइसेन्सका पसल र अन्य आम उपभोग्य पसलहरुमा अन्य पसलभन्दा बढी भीडभाड बढ्दै गएको छ ।

राजधानीको मुख्य व्यापारिक केन्द्र न्युरोड र आसपासका क्षेत्रमा रहेका पसलहरुमा ग्राहकको उपस्थिति बाक्लिँदै गइरहेको छ । व्यापारीहरुले ‘बाई वान गेट बान फ्री’ देखि लिएर ५० देखि ६० प्रतिशतसम्म छुट तथा अन्य उपहार योजनाहरुको व्यवस्था गरेका छन् ।

न्युरोडका अधिकांश टेक्सटाइल पसलहरुले १५ सय रुपैयाँमै पाइन्ट र सर्टका कपडा बेचिरहेका छन् । त्यस्तै महिलाका लुगा र ब्यागमा पनि व्यापारीहरुले भारी छुट दिएरहेका छन् ।

जमलमा रहेको एटीएट ब्याग्स्ले ७५० मै स्तरीय लेडिज ब्यागहरु बेचिरहेको छ । दरबारमार्ग जाने बाटोमा रहेको एबीसी चाइनिज मार्टले प्रत्येक सामान ६ सय रुपैयाँमै बिक्री गरिरहेको छ । मार्टमा उपलब्ध सामानहरुमा लुगा कपडा, खेलौना, स्पोर्ट आइटम र होम अपलान्सेन्स छन् ।

यसैगरी जमलमा रहेको कोरियन सपले स्टक क्लियरेन्सअन्तर्गत टी–सर्ट फुल रु ४००, फिलिस टी–सर्ट रु ७००, फिलिस सर्ट रु ९००, स्वेटर रु ९००, ज्याकेट रु १५०० मा बिक्री गरिरहेको छ ।

नेपालका चर्चित ब्रान्डहरुद्वारा आयोजित दसैँ महाकुम्भ जुत्ता मेला भृकुटी मण्डप छिर्ने बाटोमा आयोजना भइरहेको छ । स्वदेशी जुत्ताहरु बोस सुज, केटीएम सुज, पिजी सुज, जाल्पा सुज, फुट स्टेप, ब्यामबु सुज, भेनस सुज, र सिटीजन फुटवेयरका जुत्ताहरु सस्तो र भनेजस्तै मूल्यमा एउटै छानामुनि उपलब्ध भइरहेका छन् ।

यसैगरी असोज ९ गतेदेखि स्वदेशी तथा विदेशी सामानहरुको ‘दसैँको बेला सस्तो मेला’ भृकुटी मण्डपमा आयोजना हुँदैछ ।

देशका चर्चित होम अपलाइन्सेन्सहरुले पनि चाडवाड लक्षित छुटको अफरहरु ल्याएका छन् । एलजीले खुसीको डबल अपग्रेड योजना ल्याएको छ । जसमा एलजीका सामानहरु किन्दा नगद छुटदेखि एउटा सामान किन्दा अर्को सित्तैमाजस्ता अफरहरु छन् ।

यसैगरी अर्काे चर्चित होम अपलाइसेन्स बाल्ट्राले पनि विभिन्न उपहार योजनाहरु ल्याएको छ । बाल्ट्राको ४० देखि ५५ इन्चको टीभी किन्दा इलेक्ट्रिक कित्ली फ्री, फ्रिज किन्दा १.८१ लिटरको राइस कुकर फ्री, वासिङ मेसिन किन्दा आइरन फ्री, एअर कन्डिस्नर किन्दा अस्टिन कफी मेकर फ्री, डिप फ्रिज किन्दा वाटर प्युरिफाएर फ्री, चिम्नी किन्दा ३ लिटरको प्रेसर कुकर फ्री र साउन्ड सिस्टम किन्दा फ्लेम हिटर फ्रीजस्ता उपहारहरु रहेका छन् ।

विभिन्न सुपर मार्केटहरुले चाडबाड लक्षित सुपथ मूल्य पसलहरु सञ्चालन गरिरहेका छन् । भाटभटेनी सुपर मार्केटले भाद्र २७ गतेदेखि कार्तिक १६ गतेसम्म भाट भटेनीका १६ वटै सुपर स्टोरहरुमा लागू हने गरी सुपथ बिक्री मूल्य कायम गरी खाद्यसामान बिक्री गरिरहेको छ । त्यस्तै इलेक्ट्रोनिक सामानहरुमा १५ देखि २५ प्रतिशत सम्म, कस्मेटिक र घडीमा १० प्रतिशत र किचेन वेयरमा ५ प्रतिशत छुटको व्यवस्था भाटभटेनीले गरेको छ ।

बिग मार्टले पनि २ सयवटा अतिआवश्यक खाद्यसामग्री सुपथ मूल्यमा बेचिहेको छ ।