– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपालीहरुको महान चाड बडादसैँ भित्रिएसँगै राजधानीमा व्यापारिक मल र बैंकहरुमा मानिसहरुको चहलपहल ह्वात्तै बढेको देखिन्छ। 

दसैँको किनमेलदेखि घुमघाममा मानिसहरु निस्कन थालेका छन्। दसैँमा मानिसहरुलाई  पैसाको अतिआवश्यक हुन्छ। 

अहिले डिजिटल भुक्तानीले किनमेल धेरै सहज बनाएको छ। यद्यपि सबै ठाउँमा अझै पनि डिजिटल माध्यमबाट भुक्तानी गर्न सहज भएको छैन। 

कोभिड महामारीसँगै धेरै कारोबार डिजिटल माध्यमबाट भएका छन्। तर अझै पनि सबै ठाउँमा डिजिटल भुक्तानीको व्यवस्था नभएकोले नगदकै आवश्यक पर्छ। 

चाडपर्वका बेला किनमेलसँगै आवश्यक जोहो गर्न मानिसहरुले आफूसँग आवश्यक नगद रकम पनि राख्ने गर्छन्। यसका लागि उनीहरुले बैंकमा गएर वा एटीएम मेसिनबाट पैसा झिक्ने गर्छन्। 

चाडपर्वका बेला बैंकिङ सेवा चुस्तदुरुस्त हुन आबश्यक हुन्छ। तर राजधानीमै ग्राहकले पाउनुपर्ने बैंकिङ सेवामा कन्जुस्याइँ भएको देखिएको छ। 

पैसा झिक्नका लागि एटीएम बुथहरुमा थामिनसक्नु भीड देखिन थालेको छ। तर कतिपय एटीएम बुथमा पैसा सकिएर ग्राहक रित्तो हात फर्किन बाध्य भएको देखिन्थे। ‘अब भोलिबाट सीमित बैंकमात्र खुल्ने भनिएका छन्, यस्तो बेला एटीएमकै भर पर्नुपर्ने अवस्था हुन्छ’, एक ग्राहकले भने, ‘तर बैंकले पर्याप्त पैसा नराख्दा २–३ वटा एटीएम बुथ धाउँदा पनि पैसा निकाल्न गाह्रो छ। बैंकहरुले पर्याप्त पैसा राख्नुपर्यो।’ 

यसैगरी चेक क्लियरिङमा पनि ग्राहकले समस्या भोग्दै आएका छन्। केही बैंकहरुले त हिजो र आज क्लियरिङमा आएका चेकको रकम दसैँपछि मात्रै जम्मा हुने भन्दै ग्राहकलाई फर्काउने गरेको पाइएको छ।