काठमाण्डौ । विद्युत आपूर्ति ठप्प हुँदा विगत तीन दिनदेखि काठमाण्डौकै एउटा बस्ती अन्धकारमा छ भन्दा सायद अचम्म लाग्न सक्छ। तर, यो वास्तविकता हो। 

काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–४ पासीकोटमा बत्ती नबलेको ७२ घन्टा भइसकेको छ। तीन दिनअघि परेको चट्याङले भंगालस्थित सबस्टेसन क्षतिग्रस्त हुँदा पासीकोटलगायतका क्षेत्रमा विद्युत आपूर्ति ठप्प बनेको छ। 

पासीकोटनिवासी ईश्वोरी पौडेल यो राजधानीमै तीन दिनदेखि बत्ती छैन भन्नै लाज भइसकेको बताउँछन्। ‘गर्मीयाममा यत्तिका घन्टासम्म विद्युत आपूर्ति सुचारु नहुँदा आमजनजीवन निकै प्रभावित भइसकेको छ’, उनले भने। 

स्थानीय मासु व्यवसायी सञ्जीव गुरुङले आक्रोशित हुँदै भने, ‘डिपफ्रिज चलाउन नपाउँदा मैले त ५० किलो मासु फाल्नुपर्यो। यसको क्षतिपूर्ति कसले दिने ?’

त्यसैगरी स्थानीय डेरी व्यवसायीको समस्या पनि उस्तै छ । एक डेरी व्यवसायीले बिजुली नभएकै कारण २ दिनदेखि दूध ल्याउनै छाडेको बताए। ‘ल्याएर के गर्नु बिग्रेला भन्ने डर’, उनले भने। 

बूढानीलकण्ठका नगर प्रमुख मीठाराम अधिकारी भंगालको सबस्टेसन चट्याङ परेका कारण क्षतिग्रस्त बनेकोले विद्युत आपूर्ति ठप्प भएको बताउँछन्। ‘अहिले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुमाल घिसिङसहित टोली भंगालमा हुनुहुन्छ’, उनले भने, ‘आज साँझसम्म विद्युत आपूर्ति सुचारु हुने मैले जानकारी पाएको छु।’