काठमाण्डौ । पूँजीबजारमा सुरु भएको करेक्सनको क्रम साताको अन्तिम कारोबार दिन बिहीबार पनि जारी रह्यो । प्रायः सबै समूहको परिसूचक रातो भई नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ४.९८ अंकले घट्दै १४६३.१३ अंकमा अडियो । 

सरकार परिवर्तनको हल्लासँगै बुधबारदेखि करेक्सन देखिएको पूँजीबजार बिहीबार पनि ओर्लिएको हो । वर्तमान राजनीतिक अवस्थाप्रति लगानीकर्ताहरु ढुक्क नदेखिएका संकेत पूँजीबजारको गिरावटले देखाएको छ ।

केही दिनअघिसम्म पूँजीबजार बुलिस टेन्डमा कुदिरहेको थियो । नेप्से परिसूचक १५०० को ऐतिहासिक विन्दूमा पुग्ने आँकलन भइरहेको बेला बजार घट्न थालेको हो । 

बिहीबार बजार करेक्सन हुँदा अधिकांश समूहको सूचक रातो भयो । अरुबेला बजारलाई उठाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बिमा समूहको सूचक १०.३५ अंकले ओर्लियो । सबैभन्दा धेरै गिरावट उत्पादन समूहमा देखियो । यो समूहको सूचक ३७.३६ अंकले ओर्लियो । 

जलविद्युत समूहको सूचक १२.७५ अंकले ओरालो लाग्दा अन्य बेला बुलिस टेन्डमा कुदिरहेको वाणिज्य बैंक समूहको सूचक पनि ५.८३ अंकले ओर्लियो । विकास बैंक समूहमा पनि ४.५१ अंकको गिरावट देखियो । बित्त समूहमा ०.१४ अंकको झिनो गिरावट देखिँदा होटल समूह दोहोरो अंकले उकालो लाग्यो । होटल समूहको परिसूचक २०.६८ अंकले उक्लिएको हो । 

बिहीबार कुल १ सय ३३ कम्पनीको ८ लाख ६६ हजार कित्ता शेयर ७३ करोड १७ लाख ८८ हजार रुपैयाँमा किनबेच भयो ।

कारोबारको हिसाबले बिहीबारका टप टेन कम्पनीमध्ये ८ वटामा वाणिज्य बैंकहरुको होल्ड कायम रह्यो । नेपाल बंगलादेश बैंकको मात्र १ लाख ७ हजार ७६६ कित्ता शेयर किनबेच भयो । कारोबार रकम हिसाबले सबैभन्दा धेरै एभरेष्ट बैंकको ७ करोड १६ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर किनबेच भयो । 

बिहीबार नागबेली लघुवित्त, मिथिला लघुवित्त कम्पनीको शेयर मूल्य प्रति कित्ता १ सय रुपैयाँ भन्दा धेरैले बढ्यो । युनिलिभर नेपाल लिमीटेडको शेयर मूल्य प्रतिकित्ता सबैभन्दा धेरै ७२० रुपैयाँले घट्यो । एभरेष्ट बैंक, कसमस विकास बैंक, नेरुडे लघुवित्त लगायतका कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५० रुपैयाँ भन्दा धेरैले घट्यो । बिहीबार सेन्सेटिभ इण्डेक्स र फ्लट इण्डेक्स क्रमशः १.०५ र ०.१७ अंकले घट्यो ।