काठमाण्डौ । संसद् विघटनपछि उथलपुथल बनेको राजनीतिक परिस्थितिबीच आज सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

आज परिसूचक ३०.३३ अंकले उकालो लाग्दै १९६५.९६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.०१ अंकको बढोत्तरीका साथ ३७६.५६ को उचाइमा पुगेको छ।

आज परिसूचक दोहोरो अंकले बढे पनि कारोबार भने घटेर पौने ७ अर्बमा सीमित भएको छ।

राजनीतिक घटनाक्रमले जटिल मोड लिएसँगै त्यसको प्रत्यक्ष असर सेयर बजारमा पनि परेको छ । संसद विघटन भएपछि लगानीकर्तामा अन्यौल बढ्दा बजार खुल्नेबित्तिकै ओरालो यात्रा तय गरेको थियो। बजार खुलेको दोस्रो घन्टामा भने पुनः परिसूचक उकालो लागेको थियो। त्यसपछि पुनः घट्न थालेको बजार अन्तिम अवस्थामा दोहोरो अंकको बढोत्तरीका साथ बन्द हुन पुग्यो।

कानुनविद्हरुले हिजो भएको संसद् विघटनको घटनाक्रमलाई मान्यता दिन नमिल्ने दाबी गरेपछि दिउँसो २ बजेबाट बजार बाउन्सब्याक भएको हो। यद्यपि बजारमा लगानीकर्ताहरुमा अन्यौल रहेकै बेला सस्तोमा सेयर किन्ने र अलिक महँगोमा सेयर बिक्री गर्ने बार्गेनिङ भने यथावत थियो ।

आजको बजार वृद्धिमा नेपाल टेलिकम र नेपाल पुनर्बीमा कम्पनीका सेयरमूल्यमा वृद्धि भएपछि सूचकमा समेत सकारात्मक प्रभाव परी दोहोरो अंकले वृद्धि भएको जानकारहरु बताउँछन्।

आज नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ।

यो दिन बीमा समूह सर्वाधिक २०२.५५ अंकले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह १४१.८७ अंकले बढेको आज बैंकिङ समूहमा २१.०६ अंक, विकास बैंक समूहमा १४.६६ अंक, जलविद्युत् समूहमा २५.१४ अंक, वित्त समूहमा ३.०८ अंक, निर्जीवन बीमा समूह ७५.२५ अंक, अन्य समूहमा ३८.१९ अंक र लघुवित्त समूहमा ३४.५३ अंकको बढोत्तरी भएको छ।

आज व्यापारमा समूहमा सबैभन्दा धेरै ३७.३३ अंकको गिरावट आएको छ। यो दिन होटेल्स् समूह २३.०६ अंक र म्युचुअल फन्ड समूह ०.०२ अंकले ओरालो लागेका छन्।

धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २०२ कम्पनीका १ करोड २३ लाख ८२ हजार ४८२ कित्ता सेयर ६ अर्ब ६९ करोड ८८ लाख ७४ हजार ३५४ रुपैयाँमा कारोबार भएको छ।

यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ७२ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ५७ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको आज एनआईसी एसिया बैंकको ४४ करोड ८० लाख रुपैयाँ, नबिल बैंकको ३१ करोड ७६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २७ करोड रुपैयाँ, नागरिक लगानी कोषको २१ करोड ९३ लाख रुपैयाँ, नेपाल टेलिकमको २१ करोड ३२ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १६ करोड ७४ लाख रुपैयाँ, एसीसी बैंकको १५ करोड ४९ लाख रुपैयाँ र प्रभु बैंकको १४ करोड ४१ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने
आज एनआईसी एसिया बैंकका सेयरधनीहरु मालामाल भएका छन्। यो बैंकको सेयरमूल्यमा आज १० प्रतिशतको हाराहारीमा वृद्धि भएर सकारात्मक सर्किट नै लागेको छ।

यो दुईवटा कम्पनीका सेयरधनीहरु धेरै गुमाए। नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड इदी–मर्दीका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएको नकारात्मक सर्किट लागेको छ।