काठमाण्डौ। पछिल्लो राजनीतिक घटनाक्रमबाट उत्पन्न त्रासलाई चिर्दै बजारमा मंगलबार उछाल आएको छ।

राजनीतिक उथुलपुथलबीच हिजोबाट लयमा फर्किएको बजारले आज बेजोडको गति लिएको हो। आज नेप्से परिसूचक ९५.४६ अंकले बढेर २०६१.४१ को उचाइमा पुगेको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १५.१८ अंकले बढेर ३९१.७४ को विन्दुमा उक्लिएको छ।

परिसूचकले छलाङ मारेको आजको दिनमा कारोबार रकम भने पौने ७ अर्ब रुपैयाँमा सीमित भएको छ।

नबिल बैंकले हिजोमात्र ३५ प्रतिशतभन्दा बढी बम्पर लाभांश घोषणा गरेका कारण बैंकिङ समूह उचालिएको कारण नेप्सेले फराकिलो अंकले फड्को मारेको विश्लेषकहरु बताउँछन्। आज बीमातर्फका जीवन तथा निर्जीवन बीमा दुवै समूहमा उछाल आउँदा पनि परिसूचकमा ठूलो वृद्धि देखिएको उनीहरुको भनाइ छ।

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन केही दिनमै घटाउने तयारी गरेको हल्लाले पनि आज बजार बढ्नमा मद्दत गरेको जानकार बताउँछन्।

आज नेप्से उपसमूहमा रहेका सबै १२ समूहमा बहार छायो । 

यो दिन जीवन बीमा समूह सर्वाधिक ९५०.९५ अंकले उकालो लागेको छ। निर्जीवन बीमा समूह ५२७.७७ अंकले बढेको आज बैंकिङ समूहमा ७०.९ अंक, व्यापार समूहमा ७७.४८ अंक, होटेल्स् समूहमा २०.५६ अंक, विकास बैंक समूहमा ६६.१७ अंक, जलविद्युत् समूहमा ८०.६८ अंक, वित्त समूहमा २५.८ अंक, उत्पादन तथा प्रशोधन समूहमा ११३.०८ अंक, अन्य समूहमा ७८.८ अंक, लघुवित्त समूहमा १०७.०५ अंक र म्युचुअल फन्ड समूहमा ०.०८ अंकको बढोत्तरी भएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २०५ कम्पनीका १ करोड २७ लाख १७ हजार १४६ कित्ता सेयर ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४३२ रुपैयाँमा कारोबार भएको छ।

यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सार्वधिक ८६ करोड ३६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ४६ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भएको आज प्रभु बैंकको ३२ करोड १ लाख रुपैयाँ, एनसीसी बैंकको २७ करोड ३१ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २४ करोड ५८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २० करोड ४९ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको १९ करोड ८६ लाख रुपैयाँ, नागरिक लगानी कोषको १८ करोड ९१ लाख रुपैयाँ, नेपाल टेलिकमको १७ करोड ३२ लाख रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्सको १६ करोड ८७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने
आज १० वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। शिखर इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले बढ्दा नबिल बैंक, सान्जेन जलविद्युत, नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक, अप्पर तामाकोशी, रसुवागढी हाइड्रोपावर, समृद्धि फाइनान्स, प्रिमियर इन्स्योरेन्स र एनसीसी बैंकको भने १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।

यो दिन राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ भने अन्य ५ कम्पनीका सेयरमूल्य ८ प्रतिशत बढीदेखि ९ प्रतिशतको हाराहारीसम्म वृद्धि भएको छ।

आज दुई कम्पनीका सेयरधनीहरुले धेरै गुमाएका छन्। नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड इदी–मर्दीका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।