काठमाण्डौ । केपी शर्मा ओलीप्रतिको समर्थन फिर्ता लिने एमाओवादीको स्पष्ट संकेतपछि राजनीतिको बजारमा ताते पनि पूँजीबजार चाहि ठीक विपरीत सेलाएको छ । 

बुधबार नेपाल स्कट एक्सचेञ्ज(नेप्से) परिसूचक ३.८४ अंकले ओरालो लागी १४६८.११ अंकमा अडिएर बजार बन्द भयो । 

मंगलबारसम्म बजार उचालिरहेका वाणिज्य बैंक, बिमा, विकास बैंक समूहका सूचक समेत रातो भए । 
बुधबार जलविद्युत, वाणिज्य बैंक, विकास बैंक, अन्य र बिमा समूहका परिसूचक क्रमशः ८.९५, ५.२४, २.८३, २.३५ र १.९२ अंकले घटे । 

अधिकांश समूहका सूचक रातो हुँदा होटल समूहको सूचकमा दोहोरो अंकको बढोत्तरी देखियो । होटल समूहको सूचक १०.२ अंकले उकालो लाग्दा फाइनान्स समूह पनि ०.२ अंकले उक्लियो । 

मंगलबार ९६ करोड माथिको शेयर किनबेच भएको बजारमा बुधबार चाहि ७२ करोड ८९ लाखको शेयर मात्र किनबेच भयो । १ सय २२ कम्पनीका ९ लाख ७० हजार ५ सय ५२ कित्ता शेयर खरीदबिक्री भए । 

विश्लेषकहरुका अनुसार राजनीतिको बजार तातेर सरकार परिवर्तन हुने अवस्था देखेपछि लगानीकर्ताहरु पर्ख र हेरको मानसिकतामा बस्दा पूँजीबजार ओर्लिएको हो ।