काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेशबाट पार्टी फुटाउने सहज व्यवस्था गरेसँगै त्यसको टार्गेटमा पारिएका दुई दल समाजवादी र राजपाबीच बुधबार मध्यराति एकताको सहमति बनेको छ । 

ओलीलाई चुनौति दिंदै यी दुई पार्टीबीच पार्टी एकीकरणको सहमति बनेको हो । 

ओलीले अध्यादेशमा चलखेल गरी समाजवादी र राष्ट्रिय जनता पार्टी(राजपा)लाई फुटाउने रणनीति लिएपछि संभावित फूटलाई रोक्न भन्दै यी दुई दलले रातारात पार्टी एकीकरणको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

बुधबार बिहानैदेखि दुई पार्टीका नेताले पार्टी एकताको सहमति कायम गराउन तीव्र दौडधूप गरिरहेका थिए । सो क्रममा बुधबार मध्यराति समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टी बीच एकताको सहमतिपत्रमा हस्ताक्षर भएको हो । 

अब एकीकृत नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी, नेपाल’ राख्ने सहमति भएको छ । 

चार बुँदे सहमतिपत्रमा पार्टी एकीकरण समानताको आधारमा गरिने उल्लेख गरिएको छ भने एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुने भनिएको छ । एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ ।

सहमति पत्रमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादी पार्टीको तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै दुई दलले आ–आफ्नो पार्टीलाई सम्भावित विभाजनबाट जोगाउन पार्टी एकीकरण गरेका बताइए पनि यो एकताप्रति केही नेताले असन्तुष्टि व्यक्त गर्दै छुट्टै दल दर्ताको प्रयास गरिरहेका छन् । 

यी दुई दल र प्रधानमन्त्री ओलीबीचको इगोको लडाईले बिहीबार नेपालको राजनीतिमा रोचक घटनाक्रम विकास हुने देखिएको छ । 

एकीकरण हुँदै गर्दा रेणु यादव नेतृत्वमा छुट्टै पार्टी
यसैबीच, समाजवादी र राजपाबीच एकीकरणको सहमतिपत्रमा हस्ताक्षर हुँदा नहुँदै रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी पनि फुटेको छ । यादवसहित समाजवादीका ७ सांसदले छुट्टै पार्टी गठनको निर्णय गरेका हुन् । उनीहरुले गठन गरेका पार्टीको विषयमा अन्य बिस्तारमा भने खुलाइएको छ ।  

समाजवादीबाट पार्टी फुटाउनेहरुमा रेणु यादवसहित मोहम्मद इस्तियाक राई, उमाशंकर अरगरिया, प्रदीप यादव, कलुदेवी विश्वकर्मा, डा. सुरेन्द्र यादव र रेणुका गुरुङ लगायत छन् । सदस्य संख्या ७ नपुगेपछि डा. सुरेन्द्र यादवलाई मनाइएको थियो । उनलाई फूल मन्त्री पद दिने आश्वासन दिने गरी हस्ताक्षरका लागि काठमाण्डौ ल्याइएको बताइएको छ । समाजवादी पार्टीले भने यसअघि डा. सुरेन्द्र यादवलाई सरकारले अपहरण गरी लगेको दाबी गरेको थियो । 

डा. सुरेन्द्र यादवको समेत साथ पाएपछि रेणु यादव नेतृत्वको नयाँ पार्टीमा ७ सांसद हुनेछन् । राजनीतिक दल दर्ता सम्बन्धी नयाँ अध्यादेश अनुसार समाजवादीको ४० प्रतिशत सांसद संख्या रेणु नेतृत्वको नयाँ पार्टीसँग हुनेछ । 

को पहिला पुग्लान् दर्ता गर्न ?
बिहीबार समाजवादी पार्टीबाट फूटेर नयाँ बनेको रेणु यादव नेतृत्वको दल र समाजवादी र राजपाबीच एकीकरण भई बनेको एकीकृत दल, को पहिला निर्वाचन आयोग दल दर्ताका लागि पुग्छन् भन्ने विषय महत्वपूर्ण हुने बताइएको छ । 

यदि समाजवादी पार्टी फुट्नुअघि एकीकृत भएको पार्टी जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा दर्ता भई आधिकारिता प्राप्त गर्यो भने सो पार्टी फुटाउन सकस हुनेछ ।  किनभने अहिले समाजवादी पार्टी फुटाउनका लागि ४० प्रतिशत पुर्याउन सातजना सांसद मात्र चाहिनेछ तर, जनता समाजवादी पार्टी दर्ता भइसकेको अवस्थामा भने १५ जना सांसद चाहिन्छ । 

अहिले दुवै पार्टीसँग १७–१७ जना सांसद रहेका छन् । ३४ जना सांसद भएपछि पार्टी फुटाउन गाह्रो हुन्छ भनेरै नै रातारात दुई पार्टीबीच एकीकरण भएको हो । 

अब बिहीबार कुन पार्टी पहिला दर्ता हुन्छ त्यसले नै बाजी मार्नेछ । एकीकृत भएको नयाँ पार्टीलाई निर्वाचन आयोगमा जानबाट रोक्ने प्रयास हुनसक्छ । किनभने ओलीले अध्यादेश ल्याउनु पछाडिको कारण समाजवादी पार्टी फुटाउन भन्ने गरेका छन् । त्यसो हो भने ओलीले सुरुमा रेणु यादव नेतृत्वको नयाँ पार्टीलाई दर्ता गराउने व्यवस्था मिलाउन सक्नेछन् । कुनै न कुनै बाहाना निकालेर एकीकृत पार्टीलाई सुरुमा दर्ता गर्न नदिइने संभावना प्रवल देखिन्छ । 

एकीकरण लगत्तै असन्तुष्टि
यसैबीच, समाजवादी पार्टी र एकतालाई लिएर राजपा नेपालको अध्यक्ष मण्डलका दुई सदस्यमा असन्तुष्टि देखिएको छ । 

एकीकरणका लागि चलेका कुनै पनि छलफलमा राजपा नेपालका अध्यक्षमण्डलका सदस्य अनिलकुमार झा र राजकिशोर यादव उपस्थित भएनन् । 

स्रोतका अनुसार दुवैजना काठमाण्डौ भए पनि पार्टी एकीकरणका कुनै पनि छलफलमा सहभागी भएनन् । उनीहरुले पहिला राजपा नेपालको अधिवेशन हुनुपर्ने अनि मात्र समाजवादी पार्टीसँग एकीकरण हुुनुपर्ने अडान लिँदै आएका थिए । 

एकीकरणका लागि भएको छलफलमा राजपा नेपालको तर्फबाट महन्थ ठाकुर, महेन्द्र राय यादव, राजेन्द्र महतो र शरतसिंह भण्डारी मात्र उपस्थित भए । 

अब अनिल कुमार झा र राजकिशोर यादवले छुट्टै पार्टी बनाउँछन् वा रेणु यादव नेतृत्वको दलमै उनीहरुको समेत साथ र समर्थन रहन्छ भन्ने कुरा बिहीबार मात्र थाहा हुनेछ ।

पार्टी एकताका लागि भएको सहमति :