काठमाण्डौ । दुई वाणिज्य बैंकले ऋणपत्र निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्।

राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका हुन्। यी दुवै बैंकले कुल ६ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति मागेका छन्।

राष्ट्रिय वाणिज्य बैंकले ‘आरबीबीएल डिबेन्चर–२०८३’ नामक ऋणपत्र निष्कासनको अनुमति मागेको छ। यो ऋणपत्र कुल २ अर्ब ५० करोड रुपैयाँको रहेको छ।

बैंकले १ हजार अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ। जसमा व्यक्तिगत तबरबाट १५ लाख इकाइ र सार्वजनिक निष्कासनमार्फत १० लाख इकाइ बिक्री गरिनेछ। 

बैंकले ६ वर्षे यो ऋणपत्रमा लगानीकर्ताहरुलाई ८.५ प्रतिशत ब्याज दिनेछ। ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ।

राष्ट्रिय वाणिज्य बैंकको यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।

यसैगरी नेपाल बैंकले ‘नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्र निष्कासनको अनुमति मागेको छ। यो ऋणपत्र कुल ३ अर्ब ५० करोड रुपैयाँको रहेको छ।

बैंकले १ हजार अंकित दरका कुल ३५ लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ। जसमा व्यक्तिगत तबरबाट २१ लाख इकाइ र सार्वजनिक निष्कासनमार्फत १४ लाख इकाइ बिक्री गरिनेछ। 

बैंकले १० वर्षे यो ऋणपत्रमा लगानीकर्ताहरुलाई ८.५ प्रतिशत ब्याज दिनेछ। ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ।

बैंकको यो ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।