काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १५ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। 

बैंक सञ्चालक समितिका अध्यक्ष धनिराम शर्माको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न सभाले ४.५० प्रतिशत लाभांशसहितको आव २०७६÷७७ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्ताव पारित गरेको छ। अध्यक्ष शर्माले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीतिनियमलाई प्राथमिकताका साथ पालना गरिने बताए। 

सभामा बैंकका सेयरधनीहरु क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण सेयरधनीहरुको प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट उपस्थिति थियो। अध्यक्ष शर्माबाट प्रस्तुत प्रतिवेदनमाथि सेयरधनीहरु अमृतनाथ रेग्मी, डम्मरु बल्लभ घिमिरे, रामगोपाल महर्जन र सुन्दरमान श्रेष्ठले टिप्पणी गर्दै बैंक सुधारका लागि विभिन्न सुझावसहितको धारण राखेका थिए। सेयरधनीहरुको जिज्ञासाको अध्यक्ष शर्माले जवाफ दिएका थिए। 

सभामा बैंक सञ्चालक समितिका सदस्यहरु जनककुमार बराल, प्राडा राजनबहादुर पौडेल, प्राडा माधवप्रसाद दाहाल, रोमिला ढकाल उप्रेती तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनालाको उपस्थिति थियो। सभामा महालेखापरीक्षकको कार्यालय र कम्पनी रजिस्ट्रारको कार्यालयका प्रतिनिधि, बैंकका कानुनी सल्लाहकारहरु, बैंकभित्र क्रियाशील ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरु, आरबीबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृतलगायतका अतिथिको उपस्थिति थियो। 

सभालाई कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरण गरेका थिए। 

बैंकको हाल ७७ जिल्लामा २४५ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेका छन्।