काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र आगामी जेठ २५ गतेबाट निष्कासन गरिने भएको छ। 

बैंकको रु. १ हजार अंकित दरका कुल २५ लाख इकाइ भएको ‘८.५% आरबीबीएल डिबेन्चर, २०८३’ निष्कासन गर्न लागिएको हो। कुल इकाइमध्ये १५ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १० लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ। 

लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा २ लाख ५० हजार इकाइसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सक्नेछन्। त्यस्तै सीडीएसी एन्ड क्लियरिङले सञ्चालन गरेको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ।

यस ऋणपत्रको निष्कासन बन्द छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गते हुनेछ। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

६ वर्षे यो ऋणपत्रमा लगानीकर्ताले ८.५ प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ। लगानीकर्ताले अर्धवार्षिक रुपमा ब्याज पाउनेछन्। यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत वैशाख १६ गते निष्कासन गर्ने अनुमति दिएको थियो।