काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्कासन गरेको २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता देखिएको छ। 

लगानीकर्ताको उत्साहजनक सहभागिताकै कारण राष्ट्रिय वाणिज्य बैंकको ‘८.५०% आरबीबीएल डिबेन्चर २०८३’ नामक ऋणपत्रमा मागभन्दा बढी रकमको आवेदन परेको धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ। 

बैंकको यो ऋणपत्रको निष्कासन गत जेठ २५ गतेदेखि गरिएको थियो। रु. १ हजार अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र निष्कासन गरिएको थियो। ऋणपत्रमा मागभन्दा बढी आवेदन परेकै कारण आजबाट निष्कासन बन्द गरिएको छ। 

लगानीकर्ताको महत्वपूर्ण सहभागिता एवं विश्वासप्रति बैंकले आभार व्यक्त गरेको छ। लगानीकर्ताबाट प्राप्त निरन्तर सहयोग र सद्भावले बैंकलाई अझ बढी नवीनतम र उत्कृष्ट सेवा प्रदान गर्न थप अभिप्रेरित गरेको विश्वास बैंकको रहेको छ।

६ वर्षे यो ऋणपत्रमा लगानीकर्ताले ८.५ प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ। लगानीकर्ताले अर्धवार्षिक रुपमा ब्याज पाउनेछन्। यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत वैशाख १६ गते निष्कासन गर्ने अनुमति दिएको थियो। 

बैंकको यो ऋणपत्रलाई केयर रेटिङ नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा पर्याप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाका रुपमा रहेको संकेत गर्ने केयर–एनपी ए प्लस (आईएस) रेटिङ प्रदान गरेको छ।