काठमाण्डौ । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेसाकर्मी सरल कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रम बुधबार सम्पन्न भएको छ।

प्रहरी प्रधान कार्यालय मानवस्रो एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरजबहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारीपत्रमा हस्ताक्षर गरी एकआपसमा आदान प्रदान गरेका हुन्। २०७३ असार १६ गतेको समझदारीलाई निरन्तरता दिई नेपाल प्रहरीको तलबी बचत खाता आगामी ५ वर्षका लागि थप सेवासहित नवीकरण गर्ने तथा बिना धितो पेसाकर्मी सरल कर्जा उपलब्ध गराउने गरी उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले कोभिड–१९ को विषम परिस्थितिमा प्रहरी कर्मचारीहरूको स्वास्थ्यहितका लागि १० हजार थान सर्जिकल मास्क र स्यानिटाइजर प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीलाई हस्तान्तरण गरेका छन्। 

उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालय प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा, राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ब्रान्च अप्रेशन विभागीय प्रमुख सरोज बस्नेतलगायतको उपस्थिति थियो।