काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो व्यवसाय प्रवर्द्धनका लागि मिस नेपाल वर्ल्ड–२०२२ प्रियंका रानी जोशीलाई सोमबार एक कार्यक्रमका बीच ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको छ। 

राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको ब्रान्ड एम्बेसेडर नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरका तर्फबाट अध्यक्ष दिवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन्। 

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ सेवाको बारेमा खासगरी युवावर्गका ग्राहकमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नका लागि बैंकले आफ्नो ब्रान्ड एम्बेसेडरमा मिस नेपाल वर्ल्ड–२०२२ प्रियंका रानी जोशीलाई नियुक्ति गरिएको बताए। 

कार्यक्रममा दी हिडन ट्रेजरका अध्यक्ष राजकर्णिकारले यस्तो सम्झौताले दुवै संस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए। 

कार्यक्रममा मिस नेपाल वर्ल्ड–२०२२ प्रियंका रानी जोशीले आफू इतिहास बोकेको सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बेसेडर हुन पाउँदा अत्यन्त खुसी लागेको बताइन्। 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालबाट स्वागत मन्तव्य व्यक्त राखिएको कार्यक्रमको सञ्चालन सुस्मिता बैद्यले गरेकी थिइन्। 

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, विभागीय प्रमुखहरु, दी हिडेन ट्रेजरका निर्देशकद्वय सुवर्ण क्षेत्री र प्रमोद कंसकार, मिस नेपाल वर्ल्ड–२०२० नम्रता श्रेष्ठ, मिस नेपाल अर्र्थ–२०२२ डा. सरिसा श्रेष्ठ, मिस नेपाल इन्टरनेसनल–२०२२ न्यान्सी खड्कालगायत बैंक कर्मचारीहरुको उपस्थिति थियो।  

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटीएम र १०२ वटा शाखारहित बैंकिङ रहेको छ।