काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिन्धुली जिल्लाको कमलामाई नगरपालिका क्षेत्रमा उद्यम तथा व्यवसाय गर्नेहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ।

यस विषयमा राष्ट्रिय वाणिज्य बैंक र कमलामाई नगरपालिकाबीच आइतबार एक कार्यक्रमबीच सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ र कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि नगरलालिकाले नगरक्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिमप्राप्त व्यक्तिलाई कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ। यसरी नगरपालिकाबाट सिफारिस भई आएका तिनै उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्नेछ।

समारोहमा सीईओ श्रेष्ठले बैंकले आफ्नो कुल कर्जाको एक प्रतिशतबराबर रकम सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई उत्पादनसँग जोड्न सघाउ पुर्याउने बताए। मेयर खत्रीले नगरपालिकाले लिएको उत्पादन र रोजगारीसँग सम्बन्धित लक्ष्य प्राप्त गर्न यस्तो सहुलियतपूर्ण कर्जाबाट सहयोग पुग्ने बताए।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी विभिन्न नौवटा शीर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको जानकारी गराए।