काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम’ आयोजनाको अनुदान सहयोग कार्यक्रमअन्तर्गत विभिन्न कम्पनीलाई रकम हस्तान्तरण गरेको छ।

बैंकले प्रिमियर अर्गानिक्स् प्रालिलाई ५३ लाख ५१ हजार ५८४ रुपैयाँ, हुलास स्टिल इन्डस्ट्रिज प्रालिलाई ३३ लाख १५ हजार ६०० र प्रिमियर स्टिल प्रालिलाई १७ लाख ८ हजार ४५६ रुपैयाँ रकम हस्तान्तरण गरेको हो। मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र–उपकरण जडान गरेको हुंँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक मंगलबार एक समारोहका बीच हस्तान्तरण गरिएको हो। 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे। उनले यस्तो अनुदानले ऊर्जाको बचत गरी राष्ट्रकै लागि योगदान पुग्ने बताए। 

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले यो आयोजना कार्यान्वयनका लागि Project Executing Agency (PEA) का रुपमा सहायतासम्बन्धी कार्य गर्ने गरेको छ। 

यस आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र–उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलव्ध गराइनेछ। यस आयोजनाअन्तर्गत कुनै एक इकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र–उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम रु. १ करोडसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ। 

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकरी अधिकृतहरु सरस्वती अधिकारी, देबेन्द्ररमण खनाल, देवेशप्रसाद लोहनी, विभागीय प्रमुख विनयरमण पौडेल, एडेल्फीका कन्सल्ट्यान्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका निर्देशकहरु क्रमशः गौरव शारदा, हितेश गोल्छा, अभिजित सिंहलगायतको उपस्थिति थियो। कार्यक्रम बैंकका उपप्रबन्धक होमराज भट्टराईले सञ्चालन गरेका थिए।