काठमाण्डौ । नागरिक समाजका अगुवा तथा जेष्ठ नागरिकहरुले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण शहरी क्षेत्रमा भोकमरीको अवस्था आउनसक्ने भन्दै जनता भान्छाघर संचालन गरी दुईछाक टार्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

नागरिक समाजका अगुवा तथा जेष्ठ नागरिक गरी १९ जनाले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै सरकारसँग यस्तो माग गरेका हुन् । 

राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी, डा. शंकरलाल दास, हिमालय समशेर राणा, भैरव रिसाल लगायतले शहरी क्षेत्रमा आवश्यक स्थान तोकेर स्थानीय तह, समुदाय र गुठीहरुको संयोजनमा तिनको स्वास्थ्यमा असर नपर्ने गरी जनता भान्छाघर संचालन गरी दुईछाक टार्ने प्रबन्ध मिलाउन भनेका हुन् । 

उनीहरुले स्थानीय तहको सहयोगमा र तिनको रोहबरमा  बिहानबेलुकाको हातमुख जोड्न समस्या हुने वर्ग पहिचान गरी कम्तीमा ३ महिनाका लागि आवश्यक पर्ने खाद्यान्न तथा प्रति परिवार मासिक रु. १० हजारका दरले एकमुष्ट आपतकालीन राहात उपलब्ध गराउन समेत सुझाव दिएका छन् । 

यस्तै, ज्यालादरी गर्ने मजदूर, खेतीपाती गरी जिविकोपार्जन गर्ने किसान, वृद्धवृद्धा, अपांग र सुकुम्बासीका लागि पनि राहात प्याकेज ल्याउन सुझाव दिइएको छ । 

उनीहरुले कोरोना रोकथामका लागि खटिने स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षाको विषयमा खेलाँची नगर्न समेत सरकारलाई सचेत गराएका छन् । 

उनीहरुले मास्क, सेनिटाइजरजस्ता सामाग्रीको उत्पादनका लागि कारागारका कैदीबन्दीहरुको सदुपयोग गर्न सकिने सुझाव समेत दिएका छन् । 

कालोबजारी मौलाएकोले यसको समयमै नियन्त्रण गर्न, भारतीय सीमा क्षेत्रमा थप कडाई गर्न, विदेशमा अलपत्र परेका नेपालीलाई दूतावासमार्फत अभिभावकत्व प्रदान गर्न तथा सिंहदरबारमा २४ सै घण्टा खुल्ने गरी कोरोना विपद नियन्त्रण कक्ष स्थापना गर्न समेत सुझाव दिइएको छ ।